माधव ज्ञवाली, गुल्मी । हेफर इन्टरनेशनल प्रोजेक्ट नेपालको आयोजनामा रुरुक्षेत्र गाउँपालिका गुल्मीका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ। गाउँपालिकाभित्र हेफर प्रोजेक्ट अन्तर्गतका विभिन्न समुहमा आवद्ध महिलाहरुका सामुदायिक विद्यालयमा अध्यनरत छोरीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो।
नेपाल छात्रा बाल शिक्षा कार्यक्रम (Nepal Girl Child Education program) अन्तर्गत यस् परियोजनामा कर्यरत कर्मचारीद्वारा आफ्नो मासिक पारिश्रमिकबाट छुट्याइएको रकमबाट निर्मित कोषबाट गाउँपालिका भित्र विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरिले जानकारी दिए।
हेफर प्रोजेक्ट परियोजनाले निश्चित मापदण्ड तोकेर गाउँपालिका भित्रका विभिन्न (सामुदायिक ) माध्यमिक विद्यालयहरुलाई विद्यार्थीहरुलाई छनोटको लागि निवेदन गरिएको र विद्यालयले छनौट गरेका विभिन्न ७ वटा माध्यमिक विद्यालयमा अध्यनरत २२ जना छात्राहरूलाई स्कुल ब्याग, स्कुल ड्रेस, जुत्तामोजा, टाई, बेल्ट, कापी लगायत प्रति विद्यार्थी करिब १० हजार बराबरको शैक्षिक सामाग्री उपलब्ध गराइएको रुरुक्षेत्र कृषि तथा पशु उद्योमशीलता परियोजना कार्यक्रमका संयोजक सम्भु पन्थीले बताए।
कार्यक्रमका प्रमुख अतिथि एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सामाजिक भावनाले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेको सहयोगप्रति हेफर प्रोजेक्टमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै आजको कार्यक्रमले छात्राहरुलाई उर्जा मिल्नुपर्ने बताए।
पढाइमा जेहेन्दार भएर पनि आर्थिक अभावकै कारण पढ्ने उपयुक्त वातावरणबाट बन्चित कोहिपनि हुन नहुने बताउँदै उनले जसलाई पढ्ने तीब्र ईक्षा छ तर विभिन्न कारणले पढ्न पाइरहेका छैनन उनिहरुको पछाडि यस्तै थुप्रै सामाजिक संघ संस्था हुने भएकोले आफुमा भएका समस्याहरुलाई सहज रुपले बाहिर ल्याउन उनले आग्रह गरे ।
विभिन्न माध्यमबाट आउने समस्या एवं सल्लाह सुझावलाई गाउँपालिकाले कुनै न कुनै माध्यमबाट संबोधन गर्ने अथवा पुलको काम गर्ने प्रतिबद्धता पनि ज्ञवालीले व्यक्त गरेका छन् ।
विद्यालयहरु प्रति संकेत गर्दै उनी भन्छन्, "१-२ जनाले मात्र राम्रो जिपिए ल्याएर हुँदैन, त्यसलाई सो विद्यालयको औसत नतिजा भन्न मिल्दैन । ढुंगाको बिचमा पनि पिपल उम्रन्छ, मरुभूमिमा पनि ठुला रुखहरु देख्न सकिन्छ।"
गाउँपालिका शिक्षा क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न तयार भएको तर प्रत्येक विद्यालयहरुले पनि गुणस्तरमा ध्यान दिई सबै विद्यार्थीहरुलाई सहज रुपले पढ्न पाउने वातावरण सिर्जना गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ। हेफर परियोजनालाई थप प्रभावकारी बनाई यस् क्षेत्रका कृषकहरुलाई आत्मनिर्भर बनाउन थप कार्यक्रम बनाउने पनि उनको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि मिनादेवी गौतमले हेफरले ल्याएको यस् किसिमको कार्यक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै विद्यार्थीहरुले पनि आफ्ना बुवाआमाले गरेको दु:खलाई सम्झिएर आफ्नो पढाइमा निकै ध्यान दिनुहुन अनुरोध गरेकी छन् ।
त्यस्तै सामाजिक विकास संयोजक एवं रुरुक्षेत्र गाउँपालिका वडा न.३ का वडा अध्यक्ष शेषनारायण पौड्यालले हेफर प्रोजेक्टको यसखालको कार्यक्रमबाट छात्राहरुले थप हौसला प्राप्त गर्दै यसको फाइदा लिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सम्पुर्ण विद्यालयको प्रतिनिधित्व गर्दै जनवोध माविका प्र.अ वामदेव ज्ञवालीले शैक्षिक क्षेत्रमा हेफर प्रोजेक्टले सुरु गरेको छुट्टैखालको सुरुवातप्रति धन्यवाद प्रकट गरेका छन् ।
कार्यक्रमका सभाध्यक्ष एवं सामाजिक श्रोत विकास केन्द्र नेपालका अध्यक्ष राजेश श्रेष्ठले पछिल्लो समय नेपालमा महिलाहरु पढाइमा अग्रसर हुँदै गइसकेको र देशकै रास्ट्रपति जस्तो अग्रपंक्तिमा पुगिसकेकोले केहि बर्षभित्रै देशले महिला प्रधानमन्त्री समेत पाउने बिश्वास व्यक्त गरे। उनले यस कार्यक्रमले विद्यार्थीहरुमा चेतना अभिवृद्धि गर्दै छात्राहरुलाई अघि बढ्न प्रेरणा मिल्ने बताए।
कार्यक्रमको संचालन रुरुक्षेत्र कृषि तथा पशु उद्यमशीलता परियोजना कार्यक्रमका संयोजक सम्भु पन्थीले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology