काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका सबै टिकट बिक्री भइसकेका छन् । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् । क्यानले शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका छन् । क्यानले भने यस विषयमा आधिकारीक रुपमा केहि जानकारी दिएको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले फाइनल खेलका लागि साधारणतर्फको टिकट मूल्य १ हजार रुपैयाँ र प्रिमियमतर्फको २ हजार रुपैयाँ निर्धारण गरेको थियो । टिकट बिक्रीको जिम्मेवारी पाएको इसेवामार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको थियो ।
फाइनल खेल शनिबार साँझ ५ बजे सुरु हुनेछ । साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल खेलेर पहिलो उपाधिको खोजीमा हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology