काठमाडौँ । श्रीलंकाका पूर्वकप्तान महेला जयवर्धने दिल्ली क्यापिटल्सको क्रिकेट निर्देशक नियुक्त भएका छन् । जीएमआर स्पोर्ट्सले उनलाई तत्काल लागू हुने गरी जिम्मेवारी दिएको हो ।
जयवर्धनेले दिल्ली क्यापिटल्ससँगै दुबई क्यापिटल्स र द हन्ड्रेडको टोली साउदर्न ब्रेभको क्रिकेट सञ्चालन, रणनीति, खेल प्रदर्शन तथा खेलाडी विकासको जिम्मेवारी सम्हाल्नेछन् । उनले सन् २०२७ र २०२८ मा दिल्ली क्यापिटल्सको महिला टोलीको जिम्मेवारीसमेत पाउनेछन् ।
यसअघि मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक रहेका जयवर्धनेले सन् २०२६ को आईपीएलपछि उक्त टोली छाडेका थिए । उनको नियुक्तिसँगै दिल्ली क्यापिटल्सले क्रिकेट निर्देशक वेणुगोपाल राव र बलिङ प्रशिक्षक मुनाफ पटेलसँगको सहकार्य अन्त्य गरेको छ ।
जयवर्धनेको पहिलो जिम्मेवारी नोभेम्बर २१ देखि संयुक्त अरब इमिरेट्समा सुरु हुने अन्तर्राष्ट्रिय टी-२० लिग हुनेछ । त्यसपछि उनले जनवरी ७ देखि भारतमा सुरु हुने महिला प्रिमियर लिगमा दिल्लीको महिला टोली सम्हाल्नेछन् । दिल्लीको महिला टोली यसअघिका चारै संस्करणमा उपविजेता बनेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology