देवदह । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवदह नगरपालिका-५ का ४२ वर्षीय दिपक खरेल भन्ने दुर्गा प्रसाद खरेल, देवदह-५ मितेरी गाउँका ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सनिवार दिउँसो करिब ३ः४५ बजे देवदह नगरपालिका-५ का ४२ वर्षीय खरेलले पेस्तोलबाट एक राउण्ड गोली फायर गरेको र उक्त गोली लागेर बुटवल उपमहानगरपालिका-९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री क्षेत्रीको दाहिने गालामा चोट लागेको थियो । उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ ।
घटनापछि प्रहरी चौकी खैरेनी, रुपन्देहीबाट खटिएको टोलीले खरेललाई पेस्तोलसहित नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले उनको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology