माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ। कुल ६ वटा वडा रहेको यस् गाउँपालिमा पुर्ण सरसफाई उन्मुख घोषणा हुने यो पहिलो वडा बनेको छ।
वडा न. ६ साविकको रिमुवा गा.वि.स यस् भन्दा पहिले वि.स २०७१ को माघको अन्त्यतिर सरसफाई तर्फ खुल्ला दिशामुक्त क्षेत्र र स्वास्थ्य तर्फ पुर्ण खोप र शिक्षा तर्फ पुर्ण साक्षर घोषणा भइसकेको थियो।
पछि आर्थिक वर्ष २०७४/०७५ मा एकीकृत ग्रामीण विकास समाज तथा सुआहाराले यस वडामा सरसफाई उन्मुख वडा घोषणा सम्बन्धि काम सुरु गरेको नवनिर्वाचित वडा अध्यक्ष रोमनाथ पौडेलले बताए। उनका अनुसार सो कार्यक्रम संचालनको लागि सुआहारा मार्फत विभिन्न जनचेतनामूलक कार्यक्रम र वास प्रज्वलक परिचालनका साथै विभिन्न सरोकारवाला हरुलाई वास सम्बन्धि क्षमता अभिबृद्दिका लागि रु. ५ लाख बजेट सहयोग भएको थियो र पछि संस्थाको सरसफाइ क्षेत्रमा समयावधि सकिएकोले त्यसलाई गाउँपालिकाबाट बजेट छुट्याएर निरंतरता दिइएको थियो।
वि.स २०७८ असोज देखि वडा स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिती सकृय रुपमा परिचालन भई विभिन्न समय र चरणमा वडामा रहेका बस्ती तथा घरधुरीमा पुगि वास्तविक अवस्था अध्ययन गरि आवश्यक रणनैतिक योजना तयार गरि कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाइएकोले आज यस् वडा पुर्ण सरसफाई उन्मुख वडा घोषणा हुन सफल भएको उनको भनाई छ।
सरसफाईका विभिन्न २२ सूचक सहितको प्लेक्स कार्ड वडा भित्रका प्रत्यक घरधुरीमा वितरण गरि समन्वय समिति मार्फत सफा र स्वच्छ घरको प्लेक्समा नियमित अनुगमन गरि आई परेका समस्यालाई समितिमा छलफल गर्ने र समाधानका उपाय पहिचान गरि समाधान गरि निरन्तर महिला स्वास्थ्य स्वयं सेविका बाट घर भेट तथा जनचेतना सम्बन्धि कार्यक्रम संचालन गर्दै आइरहेकोले विभिन्न चुनौतीका बाबजुद पनि कार्यक्रमलाई सफलता प्रदान गर्न सकिएको पौडेलले बताए।
कार्यक्रम संचालनका क्रममा पुर्ण सरसफाइ आफ्नो लागि हो भन्ने जनचेतना जगाउन सुरु सुरुमा निकै कठिन भएको बताउँदै ब्यक्तिहरुका व्यबहारमा परिवर्तन ल्याम पनि समस्या आएको उनले बताए। "पछि निरन्तरको प्रयासले सबैलाई सचेत बनाउन सफल भएर नै आज पुर्ण सरसफाइ उन्मुख वडा बनेको छ।" उनले भने।
आजै गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारी, पत्रकार लगायतको टोलिले वडा भित्रका केही घरहरूको अनुगमन पनि गरेको थियो। अनुगमन गरिएका घरहरू निकै सफा र सुन्दर देखिएका थिए। घरको दलेन, आगन, भान्सा, चर्पी लगायत वरिपरिको वातावरण अनुगमन गरिएकोमा सबै सरसफाइ युक्त देखिएका थिए।
पुर्ण सरसफाइ उन्मुख कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गौतमले केवल कार्यक्रम संचालन गर्ने निकायको प्रयासले मात्र यो सफलता हासिल गरेको नभएर सम्पुर्ण वडाबासीहरुको ईक्षाशक्ति र प्रत्येक घर घरमा भेटेरै खट्ने स्वास्थ्य स्वयंसेविकाहरुको पनि अनवरत कृयाशिलताले यो सम्भव भएको बताउँदै सम्बन्धित सबैलाई धन्यवाद प्रकट गरिन।
स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले केवल घोषणा मात्र भएर पुर्ण सरसफाइ उन्मुख नहुने भएकोले भोलिका दिनहरुमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
आजै सम्पन्न कार्यक्रममा पुर्ण सरसफाइ युक्त वडा घोषणा गर्न योगदान पुर्याउने पुर्व जनप्रतिनिधि, स्वास्थ्य स्वयं सेविका लगायतलाई सम्मान पनि गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology