देवदह । ‘सपनाका लहरहरु’ कृतिका स्रष्टा कवि नवराज न्यौपानेको स्मृतिमा रूपन्देहीको देवदहमा विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना हुने भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, देवदहको आयोजनामा सोमबार बिहान ११ बजेबाट उक्त प्रतियोगिता हुन लागेको हो ।
देवदह नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूबीच साहित्यिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष समज्ञा अधिकारीले जानकारी दिइन् । देवदहको शितलनगरस्थित अपाङ्ग समाज सेवा भवनमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगितामा देवदह क्षेत्रका २० वटा विद्यालयले सहभागिता जनाउने अध्यक्ष अधिकारीले बताइन् । जसमा प्रत्येक विद्यालयबाट दुई जना विद्यार्थीले निःशुल्क सहभागि हुन पाउने व्यवस्था मिलाइएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा वाचन गरिने कविता पूर्णतः नेपाली भाषामा रचिएको मौलिक हुनुपर्नेछ । गद्य वा पद्य दुवै विधामा लेख्न सकिने कविता बढीमा २०० शब्दसम्मको हुनुपर्ने र यसअघि कुनै पनि विद्युतीय वा अन्य माध्यमबाट प्रचारप्रसार नभएको हुनुपर्ने नियम तय गरिएको छ ।

त्यस्तै, कविताले कुनै पनि व्यक्ति, जात, धर्म वा समुदायमाथि आक्षेप नलगाएको हुनुपर्ने र प्रतियोगीले कार्यक्रम सुरु हुनुभन्दा एक घण्टा अगावै आफ्नो रचना आयोजकलाई उपलब्ध गराउनुपर्ने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि देवदह नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई पत्राचार गरिसकिएको आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ९ हजार ९ सय ९९ रुपैंया, द्वितीय हुनेले नगद ७ हजार ७ सय ७७ र तृतीय हुनेले नगद ५ हजार ५ सय ५५ रुपैंया सहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक नकुल पौडेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology