“स्वाद जम्मा छ किसिमका छन् ।” विज्ञान पढाउने सरले कक्षामा भन्नुभयो ।
“अमिलो, पिरो, तितो, टर्रो, गुलियो र नुनिलो । अब यी स्वाद हुने विभिन्न चिजहरूका नाम आ–आफ्नो कापीमा लेख । म एकछिनमा आएर हेर्छु ।”
कक्षाकार्य दिएर सर अर्को कक्षातिर लाग्नुभयो ।
सबै विद्यार्थीहरू कक्षाकार्यमा तल्लीन भए ।
एकैछिनपछि सर आउनुभयो । प्रत्येक विद्यार्थीलाई क्रमैसँग उठाउँदै कापीमा लेखेको कुरा पढ्न लगाउनुभयो ।
यसै क्रममा देवकीको पालो आयो ।
उनले उठेर कापीमा लेखेको कुरा पढेर सुनाइन् । सुनाइसकेपछि थप जिज्ञासा राखिन्, “प्रकृतिले गुलियो उखु गरायो । कागती अमिलो बनायो । हर्रो टर्रो बनायो । करेला तितो बनायो । पिरो खुर्सानी बनायो । विभिन्न किसिमका फलफूल, कन्दमूल, तरकारी जति बनायो, जम्मा पाँचवटा स्वादको मात्रै बनायो… ।”
“अनि के भो त ?” देवकीको भनाइ पूरा नहुँदै सर प्वाक्क बोल्नुभयो ।
“भन्दै त छु सर, सुन्नुस् न,” देवकीले भनिन्, “यति धेरै खानेकुरा प्रकृतिले विभिन्न स्वादमा बनायो, तर नुनिलो स्वादको न कुनै फलफूल, न कन्दमूल, न त तरकारी नै बनायो । प्रकृतिले बनाउँदा–बनाउँदै बिर्सेको त हैन सर ?”
उनको जिज्ञासा सुनेर विद्यार्थीहरू गलल्ल हाँसे ।
सर भने हातमा रहेको कलमले विस्तारै–विस्तारै आफ्नै टाउकोमा ठोक्दै आँखा बन्द गरेर सोचमग्न हुनुभयो ।
– मित्र ‘उराठी’ गौतम
अमरपुर–गुल्मी, हाल : तिलोत्तमा–२, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology