आफ्नो मोवाइलको स्क्रिन हेर्दै मुसुमुसु हाँसी नलिनी ।
पिरीयड खाली भएकोले विश्वविद्यालयको बगैंचामा यत्रतत्र छरिएर आनन्दानुभूति गरिरहेका थिए विद्यार्थीहरु ।
"हैन् मोवाइलमा त्यस्तो के छ, जसले एक्लैएक्लै मुस्कुराउने बनायो ?" जिस्काउने शैलीमा भनि टिनाले ।
"हेर्न, उसले पठाएको म्यासेज कस्तो रोमान्टिक छ ।" नलिनी टिनाको नजिकै पुगेर म्यासेज देखाइ ।
"खै खै, कस्तो रहेछ तेरो मान्छे ? फोटो हेरौँन ।" म्यासेज हेरेपछि नलिनीको केटोसाथी हेर्ने उत्सुकता देखाइ टिनाले ।
नलिनीले पनि उसको फेसबुक प्रोफाइल खोलेर फोटाहरु देखाइ ।
"आम्माम्मा ! यो पो हो तेरो हुनेवाला ?" फोटो हेरेर आश्चर्य प्रकट गरि टिनाले ।
"किन ? के भो ? त्यस्तो आश्चर्य मान्नु पर्ने के छ र ? राम्रो लागेन तँलाई ?" नलिनीले एकै सासमा प्रश्नहरुको वर्षा गरि ।
"यो फटाहाले फेरि तँलाई पो फसाएछ ! सावधान हो है नानी । यो त मेरो भुपु हो । महाको धुर्त छ । चिप्लो घस्न भने निकै सिपालु । धन्न म बेलैमा उम्किएँ ।नत्र त अलपत्रै पार्ने रहेछ नि मोरोले ।" टिनाले आफ्नो भोगाइ यथार्थ बताइ ।
"के गलफत्ति गरेर बसीराछौ ? जानेबेला भएन ?" सानो छोरीलाई डोर्याउँदै पुस्तकालयतिरबाट आउँदै गरेकी उमाले भनिन् ।
"हेर्नु न दिदी, मेरो भुपुले यसलाई जालमा पार्न आँटेछ । त्यसैले सम्झाउँदै छु यसलाई ।" टिना फ्याट्टै बोली ।
"खै म पनि हेरुँ, तिमीहरुको नक्कले कस्तो रहेछ ?" जिस्कन खोजिन् उमा पनि ।
टिनाले नलिनीको हातबाट मोवाइल तानेर फोटो देखाइ उमालाई ।
उमाको अनुहारमा एक्कासि बादल लाग्यो ।
साँझ घर पुगेपछि आफ्नो मोवाइलमा टिना र नलिनीको फोटो देखाउँदै पतिलाई सोधिन् "यिनीहरु को हुन्, चिन्छौ ?"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology