काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर्षीय आशिष गुरुङ र मकवानपुरको बाग्मती गाउँपालिका-१ घर भई हाल काठमाडौँको बनस्थली बस्ने २२ वर्षीय सन्देश बल रहेका छन् ।
काठमाडौँको नागार्जुन नगरपालिका-१ श्रीनगरबाट गत साउन १८ गते बा ८७ प ९२० नम्बरको मोटरसाइकल हराएको भन्दै गोरखाको भीमसेनथापा गाउँपालिका-५ का विनक श्रेष्ठले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
प्रहरीले खोजतलासका क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४३७ नम्बर राखेर गुहेश्वरीस्थित ड्रीम बाइक रिकन्डिसनमा लुकाएर राखेको अवस्थामा पुरकुटी र गुरुङलाई नियन्त्रणमा लिएको हो । उनीहरूले उक्त मोटरसाइकल सन्देश बलसँग १७ हजार रुपैयाँमा किनेको बयान दिएपछि प्रहरीले बललाई पनि काठमाडौँको रानीबारीबाट पक्राउ गरेको हो।
मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
ट्राफिक प्रहरीले सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा पाङ्ग्रा ताल्चा, चेन ताल्चा, ह्यान्डल ताल्चा, डिस्क ताल्चा र सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न आग्रह गरेको छ। मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि अनुरोध गरिएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा तत्काल फोन गरी विवरण उपलब्ध गराउन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology