देवदह । देवदह प्रिमियर लिग (डिपिएल) का खेल प्रत्यक्ष प्रसारण गर्ने विषयमा सेतोमसी मिडिया नेटवर्क प्रालि र डि युनिटी युवा क्लबबीच बिहिबार सम्झौता भएको छ ।
प्रत्यक्ष प्रसारण तथा प्राविधिक उत्पादन सेवाको कुल रकम दुई लाख रुपैयाँ तय भएको सम्झौतामा उल्लेख छ । डिपिएलका सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारणको लागि दुई लाख रूपैयाँ अत्यन्त कम रकम भएपनि ग्रासरुट क्रिकेटलाई सपोर्ट गर्न र स्थानीयस्तरमा हुने खेलकुदका कार्यक्रम प्रवर्धन गर्नुपर्ने सामाजिक दायित्वलाई बोध गर्दै सम्झौतामा हस्ताक्षर गरिएको सेतोमसी व्यवस्थापनले जनाएको छ ।
सम्झौताअनुसार डिपिएलका सम्पूर्ण क्रिकेट खेल सेतोमसी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित सेतोमसी डटकमको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
डिपिएलको प्रत्यक्ष प्रसारणका क्रममा आयोजक डि युनिटीले संकलन गरेका विज्ञापनको अधिकार आयोजकसँगै रहनेछ । सेतोमसीले आफ्नै व्यावसायिक सम्पर्क तथा स्रोतबाट प्राप्त गरेको विज्ञापन भने आयोजकसँग समन्वय गरी प्रत्यक्ष प्रसारणमा समावेश गर्न सक्नेछ । त्यस्तो विज्ञापनबाट प्राप्त रकम सेतोमसीले प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा सेतोमसी डटकमलाई डिपिएलको आधिकारिक तथा एकमात्र मिडिया र डिजिटल पार्टनरका रूपमा रहने व्यवस्था गरिएको छ । सेतोमसीको स्वीकृतिबिना डिपिएलको प्रत्यक्ष प्रसारण, डिजिटल प्रसारण, लाइभ स्ट्रिमिङ, डिजिटल प्रमोसन तथा कन्टेन्ट उत्पादनसम्बन्धी अधिकार अन्य व्यक्ति, संस्था वा डिजिटल प्लेटफर्मलाई दिन नपाइने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा सेतोमसीका संस्थापक विष्णु प्रसाद पोखरेल र डि युनिटी युवा क्लबका अध्यक्ष सचिनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
असोज १७ गते डिपिएलको अक्सन हुने र कार्तिक ७ गतेदेखि देवदह क्रिकेट युनिटको खेल मैदानमा खेल सञ्चालन आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology