माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको आइतबार अनुगमन गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतको टोलिसहित अध्यक्ष ज्ञवालीले रुरुक्षेत्र ४ घ्युवेशीमा निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवनको अनुगमन गरेका हुन् ।
गाउँपालिकाको भवन निर्माण कार्य संतोषजनक रहेको बताउँदै समयमै उच्च गुणस्तर सहित निर्माण कार्य सम्पन्न गर्न ज्ञवालीले निर्माण व्यवसायी कम्पनीलाई अनुरोध गरेका छन् ।
निर्माण व्यवसायी कम्पनीका संचालक भागवत गिरिले भवन निर्माणको काम सम्झौता अवधी सकिनु पुर्व नै गुणस्तरीय रुपले सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । समय अनुकुल मिले र सबै कुराले साथ दिए वि.स २०७९ सालभित्रै काम सम्पन्न गर्ने लक्ष्य सहित आफुले काम गरिरहेको उनले बताए।
आजसम्म साढे ४ तला सम्मको ढलान सकिएको छ। जुन सम्झौतामा उल्लेख भए मध्यको ५५ प्रतिशत रहेको गिरिले बताए। सम्झौता अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म कुल २५ प्रतिशत मात्र काम सम्पन्न गरेको भएपनि हुनेमा काम छिटोभन्दा छिटो सक्ने उदेश्य सहित तीब्र रुपमा काम गरिरहेको उनको भनाइ छ। काम गर्ने क्रममा गुणस्तरमा निकै ध्यान दिइएको उनको दाबी छ।
गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको निर्माण गर्ने ठेक्का राजेश्वरी कन्स्ट्रक्सन प्रालीले पाएको थियो। ठेक्का पाएको कम्पनी र गाउँपालिका विच वि.स २०८१ साल साउन १५ गतेसम्म काम सप्पन्न हुने गरि रु. ६ करोड ३३ लाख २४ हजार ५ सय ९४ रुपैयाँ ५३ पैसा बराबरको ठेक्का सम्झौता भएको थियो।
निर्माणाधीन भवनको गाउँपालिकाका निवर्तमान अध्यक्ष निलकण्ठ गौतमले वि.स २०७८ भाद्र २१ मा शिलान्यास गरेका थिए।
ठेक्का पाएको कम्पनीले कार्यालय भवन, त्यस अन्तर्गत खानेपानी, बिजुली, ढल,पेन्टिङ लगायत सम्झौतामा उल्लेख्य गरेका कार्यहरू गर्नेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology