माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीको अगुवाइमा शनिबार कफिका बिरुवा लगाइएको छ। रुरुक्षेत्र १ रातामाटादेखि देशकै पहिलो कफि अनुसन्धान केन्द्र रुरुक्षेत्र ४ भण्डारी डाँडा जाने सडकको किनारामा कफिका बिरुवा लगाइएको हो।
बिरुवा लगाउने कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली पनि उपस्थित थिए । करिब १५० बिरुवा आज लगाइएको उनले बताए।
कफिको बिरुवा लगाउँदै ज्ञवालीले भने, "देशकै पहिलो कफि अनुसन्धान केन्द्रको अस्तित्वलाई अझै उचाइमा पुर्याउनु हामी सबैको दायित्व हो, यहाँका समुदायको हो। यहाको पहिचान कफि पनि मुख्य भएकोले यसलाई चिनाउनु पर्छ, कम्तीमा पनि हामी यो क्षेत्रमा कफिका बगैचाहरु निर्माण गर्नुपर्छ।"
स्थानीय आमा समूह, बन समिति तथा कफि अनुसन्धान केन्द्रको सहयोगमा कफि रोप्ने कार्य गरेको बताउँदै ज्ञवालीले यो सुरुवात मात्रै रहेको बताए । उनले यस् क्षेत्रमा कफिको विकासका लागि गाउँपालिकाले निरन्तर पहल गरिरहने पनि विश्वास दिलाएका छन् ।
कफिकै माध्यमबाट यहाँका किसानको स्तर केही माथी पुगेको र स्थानीय रोजगारी पनि बढ्दै गइरहेको बताउँदै उनले यस क्षेत्रका किसानलाई थप उत्साह प्रदान गर्न पनि कफिका बिरुवा रोप्ने कार्यको सुरुवात गरिएको बताए।
साविकको बलेटक्सार साविस वडा न.१ (हालको रुरुक्षेत्र ४) मा अबस्थित भण्डारी डाँडा वि.स २०७१ पहिले झाडीको रुपमा रहेकोमा वि.स २०७१ सालदेखि नेपाल कृषि अनुसन्धान परिषदद्वारा कफि अनुसन्धान कार्यक्रम संचालन भएदेखि यहाँ विभिन्न प्रकारका कफि सम्बन्धि अनुसन्धान हुँदै आइरहेका छन्, जुन नेपालककै पहिलो अनुसन्धान केन्द्र हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology