काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बाँठपाली देवता मन्दिर निर्माण योजनामा अनियमितता गरेको आरोपमा नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामध्ये दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासहित नौ जना प्रतिवादी रहेका छन् ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्यको पहिचान तथा विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बझाङको छविसपाथिभेरा गाउँपालिका-६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो । उक्त रकम दुर्गाथली गाउँपालिकामार्फत खर्च गर्ने व्यवस्था गरिएको थियो भने प्राविधिक मूल्याङ्कन र अनुगमनको जिम्मेवारी छविसपाथिभेरा गाउँपालिकालाई दिइएको थियो ।
अनुसन्धानका क्रममा मन्दिर निर्माणका लागि स्वीकृत कुल लागत ५६ लाख ७ हजार ८९७ रहेको, जसमा उपभोक्ताको जनसहभागिता ११ लाख ७ हजार ८९७, आकस्मिक खर्च २ लाख २५ हजार तथा सरकारी बजेट ४५ लाख रहेको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविकभन्दा बढी काम भएको देखाउने, अस्वाभाविक रूपमा उच्च दररेट कायम गर्ने, सम्झौताअनुसार कटाउनुपर्ने जनसहभागिताको रकम कम कट्टा गर्ने तथा झुट्टा बिल तथा भरपाई तयार गरी सरकारी रकमको दुरुपयोग गरेका थिए ।
यसरी झुट्टा कागजातका आधारमा कुल २२ लाख १ हजार ६६५ बढी भुक्तानी गरिएको पुष्टि भएको आयोगको दाबी छ ।
उक्त कार्यबाट आफूहरूलाई गैरकानुनी लाभ पुर्याई नेपाल सरकारलाई आर्थिक हानि पुर्याएको निष्कर्षसहित आयोगले सबै नौ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
मुद्धा दायर हुनेमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सवइन्जिनियर बम बहादुर बोहरा, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र वडा नम्बर ६ का वडा अध्यक्ष मोहन लाल वि.क., श्री बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा भन्ने कृष्ण बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology