देवदह । देवदहस्थित नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा नयाँ विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८३ मा प्लेग्रुपदेखि कक्षा ८ सम्म नयाँ भर्ना भएका ७६ जना विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यार्थीको लगनशीलता, मेहनत र अनुशासनले मात्रै विद्यालयको शैक्षिक प्रगति सम्भव हुने बताए । उनले विद्यार्थीलाई निसंकोच आफ्ना कुरा राख्न, असल आचरणको पालना गर्न तथा अभिभावकका सुझावलाई आत्मसात् गर्न आग्रह गरे ।
प्रिन्सिपल पौडेलले बौद्धिक, शारीरिक, सामाजिक तथा मानसिक विकासका लागि विद्यालयले विभिन्न साप्ताहिक गतिविधि सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्यलगायत आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका थिए ।
अतिरिक्त क्रियाकलाप संयोजक रुद्र प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राज कुँवरको सञ्चालन तथा पूर्वप्राथमिक इन्चार्ज सुरक्षा अधिकारी र शिक्षिका अन्जु कुमालको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology