माधव ज्ञवाली गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षमा नारायण बहादुर क्षत्री सहित विभिन्न वडाका वडा अध्यक्ष पदमा उम्मेदवारी परेको हो, उम्मेदवारले चुनाव चिन्ह समेत प्राप्त गरिसकेका छन् ।
गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका नारायण बहादुर क्षत्री रुरुक्षेत्र गाउँपालिका वडा न.४ का स्थानीय नेता हुन् । उनले पानीको धारा चुनाव चिन्ह प्राप्त गरेका छन् । यद्यपी चुनावी प्रचारप्रसार एवं घरदैलोमा भने अहिलेसम्म उनको त्यति चर्चा छैन।
तर नेकपा एमालेका उम्मेदवार हिमाल श्रेष्ठ र गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीलाई भने घरदैलो गर्न र जनतासमक्ष आफ्ना पाचबर्षे योजना सुनाउन भ्याइनभ्याई छ। दुवै युवा नेताहरू आफुले बाजि मार्ने दाबी गर्दै निकै उत्साहका साथ चुनावी मैदानमा होमिदै छन् ।
यस्तै विभिन्न वडाका वडा अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेकोमा रुरुक्षेत्र १ मा दुई जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। रुरुक्षेत्र १ का रामलाल वि.क र माधव प्रसाद ज्ञवालीले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । चुनाव चिन्ह पुतली पाएका वि.क गत स्थानीय निकायको चुनावमा सोही वडामा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि समेत हुन् । वडा अध्यक्ष पदबाट राजिनामा दिएर विकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। अहिले उनी " यसपालि पुतलीमा भोट, प्रतिगमनलाई चोट", " रुरुक्षेत्र तब हुन्छ रमणीय फुलवारी, जव बढ्छ रामलालको अभियान अगाडि," सहित तीब्र चुनावी अभियान एवं घरदैलोमा ब्यस्त छन् । विगतमा पार्टीले आफुले गरेको कार्यसम्पादनलाई मुल्यांकन नगरी अर्कैलाई उम्मेदवार गराएको र पटकपटक आफुलाई असहयोग गर्दै आइरहेकोले आफुले स्वतन्त्र उम्मेदवारी दिएको वि.क बताउँछन् । आफुले विगतमा गरेका समाजसेवा र वडा अध्यक्षको रुपमा रुरुक्षेत्र १ का जनतालाई गरेको सेवाका अधारमा त्यस क्षेत्रका जनताले आफुलाई विश्वास गरेर पुन: वडा अध्यक्षमा विजयी गराउने उनको दावी छ।
वि.क सङ्गै स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवाली भने चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका छैनन् । उनले आफ्ना एजेन्डा एवं चुनाव केन्द्रीय केही कार्यक्रम सार्वजनिक गरेका छैनन् । उनले लौरो चुनाव चिन्ह प्राप्त गरेका छन् ।
यता रुरुक्षेत्र २ मा वडा अध्यक्ष पदका लागि १ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। रुरुक्षेत्र गाउँपालिका वडा न.२ का प्रेम बहादुर रेगामीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्, उनको चुनाव चिन्ह हाँस रहेको छ।
वडा न.३ मा दुर्गा प्रसाद ज्ञवालीको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी परेको छ, ज्ञवाली खरायो चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रदै छन् ।
त्यस्तै वडा न.४ मा २ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। रुरुक्षेत्र ४ का पदम श्रेष्ठ चुनाव चिन्ह कैँची र गोविन्दमान श्रेष्ठ ब्याटमिन्टन कर्क चुनाव चिन्ह सहित चुनावमा भिड्नेछन् । त्यस्तै वडा न.५ मा फर्स प्रसाद श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् , उनको चुनाव चिन्ह आँप रहेको छ। यस्तै रुरुक्षेत्र ६ मा पनि गुलाफको फुल चुनाव चिन्ह पाएका टोप बहादुर कामीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका अधिकांश निष्क्रिय देखिन्छन्, उनिहरु आफ्नो भोट माग्दै विकासका योजना र एजेन्डा बोकेर आफ्नो घरदैलोमा नआएको बरु उल्टै पार्टीको लागि भोट माग्ने गरेको स्थानीय बताउँछन् ।
चुनाव चिन्ह प्राप्त गरेका १-२ जना बाहेक रुरुक्षेत्रमा अन्य उम्मेदवारहरुले आफ्ना चुनावी एजेन्डा एवं पाचबर्षे कार्ययोजना सार्वजनिक नगर्नु, घरदैलो एवं आफ्नो प्रचारप्रसारमा नहोमिनु र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु कुनै निश्चित पार्टीमा सक्रिय हुनुले यसरी दिएको उम्मेदवारीलाई उनीहरुको चुनावी रणनीतिका रुपमा धेरैले बुझेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology