देवदह । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै चुलिएको छ । चुनावको मिति नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेलाई यतिबेला घरदैलोमा भ्याई नभ्याई छ ।
चुनावी अभियानमा व्यस्त न्यौपानेले प्रचारप्रसारको अन्तिमा दिन सोमवारसम्म देवदह र तिलोत्तमा नगरपालिकाका सवै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलोका क्रममा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएकाले आफ्नो जीत सुनिश्चित रहेको न्यौपानेले बताएका छन् ।
विशेषगरी जेष्ठ नागरिकहरूले न्यौपानेलाई विजयको शुभकामना दिँदै एमाले सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता र विकासका काम बिर्सिन नसकिने बताएका थिए । अर्कोतर्फ, नयाँ पुस्ता अर्थात् जेन्जी युवाहरूमा पनि एमाले र न्यौपाने प्रति विशेष आकर्षण देखिएको एमाले रुपन्देही क्षेत्र नं १ का संयोजक प्रकाश अर्यालले जानकारी दिए ।
युवाहरूले देशको आर्थिक समृद्धि र रोजगारीका लागि एमालेकै नेतृत्व आवश्यक रहेको भन्दै उम्मेदवार न्यौपानेलाई साथ दिने प्रतिबद्धता जनाएका छन । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले सुकुम्बासी समस्या समाधान, भन्सार नाकाको स्तरउन्नती र सडक पूर्वाधारलाई मुख्य प्राथमिकता दिने बताएका छन् ।
‘हामी केवल आश्वासन होइन, काम गर्न आएका हौं ।’ उनले भने, ‘समग्र क्षेत्रको मुहार फेर्न सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन आग्रह गर्दछु ।’ क्षेत्रको विभिन्न वडाहरूमा एमालेको पक्षमा जनलहर बढ्दै गएको स्थानीय एमाले नेताहरूको दाबी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology