देवदह । नेकपा एमाले रुपन्देही क्षेत्र नम्वर १ का उम्मेदवार दधिराम न्यौपानेले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । उनले कृषिको विकासले मात्र देशलाई समृद्धि तर्फ अगाडि बढाउन सकिने भएकोले कृषि उत्पादनलाई प्राथमिकता राखेर काम गर्नुपर्ने बताए ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत देवदह नगरपालिका-३ र २ को घरदैलो कार्यक्रममा मतदातासंग संवाद गर्दै उनले कृषिको विकासबाट मात्र देशले समृद्धि हासिल गर्ने बताए । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार न्यौपानेले कृषिलाई व्यवसायीकरण गर्दै स्थानीय स्तरमा रोजगारी सृजना गर्ने गरी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले युवाहरुलाई व्यवसायीक कृषि उत्पादनमा जोड्न सके विदेश पलायन हुनबाट रोक्न सकिनेमा जोड दिए । उम्मेदवार न्यौपानेले कृषि उत्पादनको मुल्य समयमै निर्धारण गर्नसके मात्र किसानलाई फाईदा हुने बताउँदै राष्ट्रिय आवास कम्पनीको जग्गामा बसोवास गर्ने नागरिकलाई लालपुर्जा दिलाउने गरी आफुले पहल गर्ने प्रतिद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रममा पार्टीका केन्द्रिय सचिव छविलाल विशवकर्मा, लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता थियो । घरदैलो कार्यक्रममा रहेका न्यौपानेलाई स्थानीयवासीले पञ्चेवाजा सहित स्वागत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology