देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अन्तरगत पहिलो दिनको मूल समारोहमा ९०० जना विद्यार्थीले प्रस्तुति दिएका छन् । हरेक वर्ष जुनियर र सिनियर तहका विद्यार्थी र अभिभावकको लागि अलग-अलग दिन मूल समारोह गर्दै आएको बुद्ध पब्लिकले शुक्रवार कक्षा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थी र अभिभावकको सहभागितामा कार्यक्रम संचालन गर्यो ।
जुनियर तहको मूल समारोहमा ५४ समूहमा ९०० विद्यार्थीले प्रस्तुति दिएको र उत्कृष्ट विद्यार्थीहरुको शैक्षिक पुरस्कार समेत वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यार्थी मन्चमा उभिएर प्रस्तुति दिंदा आत्मविश्वास वृद्धि हुने र प्रतिभासमेत प्रस्फुटन हुने हुँदा सबै शेसनका विद्यार्थीलाई प्रस्तुति दिने अवसर प्रदान गरिएको विद्यालयकी सहायक प्रिन्सिपल रोशी गुरुङले बताइन् । 'हामीले सबै विद्यार्थीलाई अवसर दिनुपर्छ र मन्च प्रदान गर्नुपर्छ भन्ने उद्धेश्यले अभिभावकज्यूहरुको उपस्थितिमा ९०० जना बालबालिकाको प्रस्तुति राखेका हौँ' सहायक प्रिन्सिपल गुरुङले भनिन् ।
कार्यक्रममा शैक्षिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयको भौतिक, शैक्षिक तथा अतिरिक्त गतिविधिबारे जानकारी गराए ।
वि.सं. २०५८ मा स्थापना भएको विद्यालयले प्राथमिक तहबाट सुरु गरी हाल कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गर्दै आएको छ । सुरुवाती चरणमा सीमित स्रोतसाधन र थोरै विद्यार्थीबाट सुरु भएको विद्यालय अहिले रुपन्देहीको पूर्वी क्षेत्रमा स्थापित शैक्षिक संस्थाका रूपमा विकास भएको प्रिन्सिपल गैरेको भनाइ छ ।
विद्यालयका अनुसार ९१ कोठे भूकम्प प्रतिरोधी भवन, कक्षा ११–१२ का लागि छुट्टै ब्लक, पुस्तकालय, विज्ञान प्रयोगशाला, सभाहल, कम्प्युटर ल्याब, नृत्य कक्ष, छात्रावास, खेलमैदान, चमेना गृह तथा सवारी साधनको व्यवस्था गरिएको छ । कक्षाकोठामा प्रविधिमैत्री शिक्षण प्रणाली, सिसिटिभी जडान, पूर्वप्राथमिक तहका लागि बालमैत्री वातावरण र दिवा खाजाको व्यवस्था गरिएको जनाइएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको तथा उत्कृष्ट, जेहेन्दार र अपाङ्ग विद्यार्थीलाई विभिन्न संघसंस्थासँग समन्वय गरी छात्रवृत्ति प्रदान गरिएको प्रिन्सिपलको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयले नियमित त्रैमासिक, मासिक र साप्ताहिक परीक्षा सञ्चालन गरी अभिभावकको सहभागिता बढाउने अभ्यास गरेको जनाएको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत भित्तेपत्रिका प्रकाशन, ‘बुद्ध पब्लिक दर्पण’ त्रैमासिक पत्रिका, जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता र खाना महोत्सव सञ्चालन गर्दै आएको जानकारी दिइएको छ ।
खेलकुदतर्फ देवदह नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ११ स्वर्ण, १० रजत र ६ कास्य पदकसहित प्रथम हुन सफल भएको विद्यालयले जनाएको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने प्रतियोगितामा पनि उत्कृष्ट नतिजा हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बुद्ध पब्लिक अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित भएको बताइन् । आधारभूत तह, एसइई तथा कक्षा १२ को परिक्षामा समेत विद्यालयले उत्कृष्ट नतिजा दिएको उल्लेख गर्दै उपप्रमुख गुरुङले नगरपालिका र विभिन्न संघ, संस्थाले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा समेत बुद्ध पब्लिकले उल्लेखनिय सहभागिता जनाएको बताइन् ।
विद्यालयका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतासम्म सम्पन्न मूल समारोहमा सहायक प्रिन्सिपल बेद सूर्यवंशीको स्वागत तथा अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology