देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा खाना महोत्सव, अभिभावक लक्षित खेलकुद तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको पूर्वार्धमा कार्यक्रम आयोजना गरिएको हो ।
बुधवार विद्यालयमा अध्ययनरत विद्यार्थीले सिकेको सीप र ज्ञानलाई खाना महोत्सवमार्फत प्रस्तुत गरे । खाना महोत्सव अन्तरगत विद्यालयको कक्षा १० सम्मका चार सदनले सांस्कृतिक भेषभूषासहित विभिन्न सांस्कृतिक परिकार प्रस्तुत गरेका थिए ।
त्यसैगरी कक्षा ११ र १२ का विद्यार्थीका तीन स्टलसहित जम्मा सात वटा खानाका स्टल रहेका थिए ।
अभिभावक लक्षित खेलकुद अन्तर्गत पुरुष अभिभावकबीच भलिबल र घैटोफोर तथा महिला अभिभावकबीच बेलुन डान्स र कुर्सी दौड प्रतियोगिता सञ्चालन गरिएको प्रिन्सिपल कृष्णप्रसाद गैरेले बताए ।
कार्यक्रममा आयोजित स्वास्थ्य शिविरमा अभिभावकहरूको दन्त परीक्षण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष यज्ञप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रिन्सिपल कृष्णप्रसाद गैरेको स्वागत र शिक्षक ढुंडिराज मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको मूल समारोह दुई दिन संचालन हुनेछ । फागुन ८ गते नर्सरीदेखि कक्षा ४ सम्म र फागुन ९ गते कक्षा ५ देखि १२ सम्मका विद्यार्थी मूल समारोहमा सहभागी हुनेछन् । कार्यक्रममा कक्षागत नृत्य, भेषभूषा तथा पेशागत भेषभूषा प्रदर्शनी, विज्ञान प्रदर्शनी, नाटक, विद्यार्थी गायन, उत्कृष्ट विद्यार्थी तथा शिक्षक–कर्मचारी सम्मान मुख्य आकर्षणका रूपमा रहने विद्यालयले जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रम सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ ।
दुई हजार एक सय विद्यार्थी अध्ययनरत बुद्ध पब्लिकले शैक्षिक गतिविधिसँगै खेलकुद, अतिरिक्त क्रियाकलाप र समुदायसँगको सहकार्यलाई जोड्दै वार्षिकोत्सवलाई शैक्षिक तथा सामाजिक उत्सवका रूपमा मनाइरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology