देवदह बुद्ध पब्लिक मन्टेश्वरीको पाँचौं वार्षिकोत्सव ः निजी क्षेत्रको भूमिकामाथि जोड, गुणस्तरीय शिक्षामा सहकार्यको आह्वान
देवदह । देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले शिक्षाको विकासमा निजी क्षेत्रका विद्यालयको योगदान उल्लेखनीय रहेको बताएका छन् । उनले शिक्षामा सर्वपक्षिय योगदानले मात्र यसको विकास सम्भव रहेको बताए ।
देवदह बुद्ध पब्लिक मन्टेश्वरीको पाँचौं वार्षिकोत्सव समारोहको अवसरमा बोल्दै प्रमुख खरेलले शिक्षा विना सबै कुरा अधुरो हुने उल्लेख गरे । “शिक्षा बिना समाजका हरेक पक्ष अधुरा रहन्छन् ।” उनले भने, “त्यसैले देवदह नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ। ”
नगर प्रमुख खरेलले देवदहमा बुद्ध पब्लिक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयले गरेका प्रयास सराहनीय रहेको धारणा व्यक्त गरे ।
समारोहमा देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जयकिसन अधिकारी, देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ८ का अध्यक्ष हरी प्रसाद पाण्डे, बुद्ध पब्लिक फाउन्डेसनका अध्यक्ष सुभ कान्त न्यौपाने, फाउन्डेसनका पूर्व अध्यक्ष चक्रपाणि तिवारीलगायतले शिक्षाको गुणस्तर अभिवृद्धि, निजी क्षेत्रको भूमिका र राज्य-निजी सहकार्यका विषयमा धारणा राखे ।
कार्यक्रममा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले अतिथिहरुलाई स्वागत गर्दै औपचारिक शिक्षाले मात्र विद्यार्थीको समग्र विकास सम्भव नहुने तर्क गरे । व्यवहारिक शिक्षा, अतिरिक्त क्रियाकलाप र सिर्जनात्मक अभ्यासले विद्यार्थीभित्र निहित प्रतिभा र सीप उजागर गर्ने धारणा व्यक्त गरे । “हामी विद्यालयलाई फरक शैलीमा सञ्चालन गरिरहेका छौं,” उनले भने, “समग्र शिक्षाको गुणस्तर वृद्धिका लागि राज्यले निजी क्षेत्रको लगानीलाई सम्मान गर्नुपर्छ ।” शिक्षामा हुने विभेदको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद ढुंगानाको अध्यक्षता र शिक्षक आकृति गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू पस्किएका थिए । समारोहमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology