देवदह । नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले कुनैपनि अवस्थामा राष्ट्रको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देश र जनताको हितलाई सर्वोपरि राख्ने प्रतिवद्धता व्यक्त गरे ।
रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार समेत रहेका न्यौपानेले आफू सधैं जनता र देशको सेवामा समर्पित रहने बताए । नेकपा एमाले देवदह-७ को निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार न्यौपानेले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा स्पष्ट योजना बनाएर काम गर्ने जनाए । ‘धेरै विकासका काम सम्पन्न भइसकेका छन् ।’ उम्मेदवार न्यौपानेले भने, ‘बाँकी रहेका कामलाई निरन्तरता दिँदै समृद्धि र विकासका लागि एमालेको विजय आवश्यक छ ।’
वर्तमान अवस्थामा मुलुक असहज परिस्थितिमा रहेको उल्लेख गर्दै न्यौपानेले विभिन्न राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय प्रभावहरूले देशलाई कमजोर पार्ने प्रयास गरिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले फाल्गुन २१ को निर्वाचन देशकै भविष्यसँग जोडिएको संघर्षको रूपमा चित्रण गर्दै एमालेको जित अनिवार्य रहेको धारणा व्यक्त गरे ।
न्यौपानेले एमाले नेतृत्वमा सडक विस्तार, पूर्वाधार निर्माण, औद्योगिकिकरण, शिक्षाको सुधार तथा पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति जस्ता महत्वपूर्ण काम अघि बढाइएको समेत उल्लेख गरेका छन् । ‘एमाले सरकारमा हुँदा विकासका कामले गति लिन्छन् र सरकार बाहिर रहँदा ती कार्यहरू रोकिने प्रवृत्ति देखिन्छ ।’ उनले भने, ‘त्यसैले पनि विकासको निरन्तरता र स्थायित्वका लागि एमालेको जित आवश्यक छ । ’
निर्वाचन परिचालन कमिटी वडा नं ७ का का संयोजक सीता बस्यालको अध्यक्षता, नगर कमिटी सचिवालय सदस्य तिलबिक्रम बुढाथोकीको स्वागत तथा विद्यार्थी नेता अर्जुन गैरेको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology