धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही-१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले रुपन्देही १ का किसानले सिंचाई र मलखादको ठूलो समस्या झल्नु परिरहेको बताएका छन् ।
रुपन्देही-१ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले सिंचाई र मलखादको समस्या समाधानका लागि बिगतका सरकारले प्रभावकारी भूमिका र योजना ल्याउन नसकेको जनाउँदै किसानका समस्या समाधानका लागि सरकार जिम्मेवार बन्नु पर्ने बताए ।
‘यस क्षेत्रमा किसानलाई सिंचाई र मलखादको ठूलो समस्या छ । आकासे पानीमा निर्भर रहेर किसानले खेती गर्न परिरहेको छ’, बोहराले भने, ‘मलखादमा पनि किसानको समस्या उस्तै छ । सरकारले कहिल्यै पनि किसानलाई आवश्यक परेको बेला मल उपलब्ध गराउन सकेको छैन ।’
रुपन्देही-१ मा रोहिणी नदी लगायत अन्य स-साना नदीमा बाँध बाँधेर किसानको खेत खेतमा सिंचाईका लागि पानी पुर्याउन सकिने योजना उनको छ । उनको भनाइमा नदी तथा खोलामा पानी बगेर खेर गैरहेका छन् । तर किसानका खेत भने सुख्खा छन् ।
रुपन्देही जिल्लामैं सिंचाईका लागि आफुनो बुवा स्वर्गीय दीपक बोहराले विश्व बैंकको सहयोगमा अर्बौको लगानीमा भैरहवा-लुम्बिनी भूमिगत जल परियोजना भित्राएर रुपन्देहीका धेरै सुख्खाग्रस्त खेतमा सिँचाई पुर्याएको उल्लेख गर्दै उनले अब पनि त्यस खालका योजनाहरु बिस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
किसानले बर्षेनि झैल्दे आउनु परेको अर्को समस्या मलखाद वारेमा पनि उम्मेदवार बोहराले आफ्नो ध्यानआकर्षण भएको उल्लेख गरे । उनले भने ‘कि सरकारले समयमैं किसानलाई मलखाद उपलब्ध गराउन सक्नु पर्यो कि त किसानले आफै जोगाड गरेर अनेक हण्डर खाँदै छिमेकी मुलुक भारतबाट ल्याएको मलखाद नेपाल सरकारले खोसेर जफत गर्नु भएन ।’
किसानलाई सहज रुपमा उपलब्ध गराउन भनि नेपाल सरकारले दिएको अनुुदानको मलखाद वास्तनविक किसानले प्राप्त गर्न नसकेको र किसानका वास्तविक समस्याहरु निर्वाचित जनप्रतिनिधिले सरकार समक्ष पुर्याएर पहल गर्न पनि नसकेको उनी बताउँछन् ।
‘यदि नेपाल सरकारले समयमैं किसानलाई मलखाद उपलब्ध गराउन नसक्ने हो भने भारतबाट ल्याउन खुल्ला गरिदिनु पर्यो ।’ उनले भने, ‘कुनै प्रकारको हैरानी दिनु भएन ।’
उम्मेदवार बोहराले सिंचाई विस्तार र मलको समस्या सधानमा आफूले निरन्तर प्रयास गर्दै आएको जनाए । आफू निर्वाचित भए जनताका समस्या संसददेखि सरकारसम्म निरन्तर पुर्याउने र समस्या समाधानमा पुलको काम गर्ने राप्रपा उम्मेदवार बोहराको प्रतिबद्धता छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology