गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफूले अध्ययन गरेको विद्यालयमा स्वर्गीय बुवाको सम्झनामा अक्षयकोष स्थापना गरेका छन् ।
मालिका गाउँपालिका-७, घमिरस्थित देविस्थान माध्यमिक विद्यालयमा उनले आफ्ना स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको नाममा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । यही विद्यालयबाट अक्षर चिनेर जीवनको यात्रा सुरु गरेका कार्कीले बुवाको सपना जोगाउन सहयोग गरेको विद्यालय परिवारले जनाएको छ ।
अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट हरेक वर्ष दुई जना गरिब तर मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्यालले यस सहयोगले विद्यार्थीलाई नयाँ आशा दिएको बताए ।
विद्यालयको ५४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा महानिरीक्षक कार्कीले विद्यालयलाई डिजिटल स्मार्ट बोर्ड पनि प्रदान गरेका छन् । उक्त सामग्री उनकी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले हस्तान्तरण गरिन् । उनले शिक्षामा प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गरिन् ।
स्वर्गीय कृष्णबहादुर कार्कीको पहलमा वि.सं. २०२८ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुन्छ र करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology