देवदह । 'मेरो छोरोलाई ५०० रूपैयाँ दिएर सब्जी किन्न पठाएको लंगुर बुर्जा खेलेर सकाएछ । मिडियाले पनि केही लेख्दैन, प्रहरी र नगरपालिकाले पनि रोक्नुपर्ने हो, रोकेको देखिएन । देवदहमा जुवातासलाई प्रोत्साहन गरिएको हो कि के हो ?' देवदह नगरपालिकाको वडा नं ७ की एक महिलाले सेतोमसीसंग गुनासो गरिन् ।
उनको गुनासोपछि स्थलगत अध्ययन गर्दा देवदहका हरेकजसो चोकमा लंगुर बुर्जाको बजार चलिरहेको पाइएको छ । मुख्य बजार क्षेत्र शीतलनगर र खैरेनीमा लंगुरबुर्जा खेल्नेहरुको भिड देख्न सकिन्छ । रमाइलोका लागि भन्दै खेलिएका यस्ता लंगुरबुर्जा पारिवारिक कलहको विउ बनेको ती महिलाको भनाइले पुष्टि गर्छ ।
खैरेनी प्रहरी चौकीले लंगुरबुर्जा खेल्ने र खेलाउनेलाई सम्झाएर पठाउने गरिएको बताएको छ । सेतोमसीसंग कुरा गर्दै चौकी इन्चार्ज भीमसेन विष्टले पक्रिने र धपाउनेभन्दा पनि सम्झाउने र नखेल्न/नखेलाउन अनुरोध गर्ने गरिएको बताए । 'हामी खैरेनी, दाउन्ने, शीतलनगर लगायतका क्षेत्रमा पुगेर सम्झाएका छौं । पक्रिने र जफत गर्नेगर्दा भागदौड हुने भएकोले त्यसो नगरिएको हो ।' उनले भने ।
त्यतिमात्र होइन, देवदहका 'प्रतिष्ठित व्यक्तिहरु' समेत जुवातासमा व्यस्त हुने गरेको पाइएको छ । कैयौं घरहरु जुवा अड्डा बनेको सूचना सेतोमसीलाई प्राप्त भएको छ । जुवातास नियन्त्रण गर्न नसक्दा कैयौं व्यक्तिले लाखौँ रुपैयाँ हार्ने र त्यसले घर र समाजमा कलह सिर्जना गर्ने हुनाले पनि जुवा असामाजिक कार्य हो भन्ने बुझ्न जरुरी छ ।
सामाजिक सद्भाव, सुख, शान्ति र समृद्धिको लागि शुभकामना आदानप्रदान गरिने चार्डपर्वलाई जुवातास र अपराध मुक्त बनाउन प्रहरी प्रशासन, नगरपालिका र खासगरी स्थानीयस्तरमा आमा समूहजस्ता संघसंस्थाहरु सक्रिय हुन जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology