देवदह । सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयलहरु आन्दोलनमा उत्रेका छन् । राज्यले आफुहरुका माग पूरा गर्नुको साटो निजी विद्यालयको विरुद्धमा विधेयक ल्याएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा हन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिवार देवदहका निजी विद्यालयहरुले प्याब्सन तथा एन प्याब्सन देवदहको नेतृत्वमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । प्याव्सन केन्द्रिय आन्दोलनका कार्यक्रम अन्तर्गत आज पत्रकार र सञ्चारकर्मीहरुको उपस्थितिमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई ज्ञापनपत्र बुझाएको प्याब्सन देवदहका सचिव कृष्णप्रसाद गैरेले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउँदै सचिव गैरेले शिक्षामा निजी क्षेत्रको झण्डै ६ खर्व लगानी रहेको र चार लाख रोजगारी सृजना गरेको उल्लेख गर्दै राज्यले त्यसलाई अवमुल्यन गरेको बताए । उनले अहिलेपनि देशको कुल गार्हस्थ उत्पादन (जिडिपि) मा निजी विद्यालयहरुको ७.२ प्रतिशत योगदान रहेको उल्लेख गरे ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा उल्लेख भएका विभिन्न चार विषयप्रति नीजि विद्यालयहरुले असहमति जनाएका छन् । निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने उनीहरुको माग छ । यस्तै हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने समेत उनीहरुले माग गरेका छन् ।
माग पूरा गर्न ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकार्षण गराएपनि कुनै सुनुवाई नभएपछि केन्द्रीय कार्यक्रमअनुसार साउन २९ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्याव्सन केन्द्रिय महासचिव आरबी कटवालले विज्ञप्ती मार्फन जनाएका छन् ।
घोषित कार्यक्रम अन्तर्गत बिहिवार स्थानीय निकाय अन्गर्तका प्रमुख र उपप्रमुख तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउने, ३० गते जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा ज्ञापन पत्र बुझाउने र भदौ १ गते प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
यसैगरी भदौ २ गते जिल्लास्थित निर्वाचन क्षेत्रका संघीय सांसदलाई ज्ञापन पत्र बुझाउने र त्यसपछि विभिन्न तहमा थप आन्दोलन तयारीका कार्यक्रम तय गर्ने निजी विद्यालय संगठनहरुको तयारी छ ।
भदौ ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरुले उक्त समयभित्र पनि माग पूरा नभए विद्यालय बन्दसम्मका कार्यक्रम गर्ने जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology