काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार उपसमितिलाई विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
"सबै दलको प्रतिनिधित्व रहेको सानो टिमले विधेयकका विवादित बुँदामा सहमति जुटाउने गरी छलफल अघि बढाउनेछ," सभापति थापाले भने। उपसमितिलाई समितिका अन्य सदस्य, विज्ञ तथा सरोकारवालासँग परामर्श गरेर प्रतिवेदन तयार पार्ने निर्देशन दिइएको छ।
उपसमितिमा संयोजक विश्वकर्मासँगै सांसदहरू डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, विना जैसवाल, विनिताकुमारी सिंह र सरिता भुसाल सदस्य रहेका छन्। उपसमितिले कार्य प्रारम्भ गरेपछि थप एक सदस्य मनोनयन गरिने जनाइएको छ।
समितिले उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकेको छ। विद्यालय शिक्षा विधेयक लामो समयदेखि विवादमा रहेकाले यसलाई टुंग्याउन उपसमितिले प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology