काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् व्यवस्थापनका लागि देशभर स्वयंसेवक परिचालन अभियान सुरु गरिएको बताएका छन्।
आईतवार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा बोल्दै उनले अहिलेको अभियान पूर्ववत् अभ्यासभन्दा फरक ढंगले अगाडि बढाइएको स्पष्ट पारे। उनका अनुसार यसअघि विपद् व्यवस्थापनमा स्वयंसेवक गठन र परिचालन जस्ता पहल नभएका भए पनि अब तीन तहका सरकारसँग समन्वय गर्दै तालिम प्राप्त जनशक्ति परिचालन गरिनेछ।
उनले भने, “यो नयाँ काम हामीले सुरु गरिरहेका छौँ। विपद्को बेलामा जनशक्ति तालिम प्राप्त नभए रेस्क्यु गर्न गएका आफैँ संकटमा पर्न सक्छन्। त्यसैले हामी स्वयंसेवक विकास गर्न खोजिरहेका छौँ। ललितपुरबाट यो अभियान सुरु गरेका छौँ, विस्तारै सबै पालिकामा पुर्याउने लक्ष्य छ।”
कार्यकारी निर्देशक भट्टले ललितपुर महानगरबाट प्रारम्भ भएको कार्यक्रमलाई क्रमशः सबै पालिकामा विस्तार गर्दै देशव्यापी बनाउने योजनासमेत स्पष्ट पारेका छन्। उनका अनुसार अबको विपद् व्यवस्थापनमा पूर्वतयारी र प्रशिक्षित जनशक्तिको उपयोग प्राथमिकतामा रहनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology