काठमाडौँ । सरकारले मनसुनजन्य सम्भावित विपद्बाट हुने जोखिमलाई मध्यनजर गर्दै यस वर्ष केही अघि नै पूर्वतयारी सुरु गरेको छ। विगत वर्षहरूमा मनसुनका बेला ठूलो जनधनको क्षति व्यहोर्नुपरेको अनुभवलाई ध्यानमा राख्दै सरकार अबको रणनीति र तयारीमा चाँडै जुटेको हो।
आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले मनसुन आगमनअघि नै तयारी थालिएको जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार भारतको मौसम संस्थाले दिएको प्रारम्भिक पूर्वानुमानका आधारमा नै नेपालले तयारी अघि बढाएको हो।
“हामी साउथ एसियन मनसुन वाचको निर्णयसहित केही अघिदेखि नै तयारी गर्दै थियौँ,” प्रमुख भट्टले भने, “मनसुन अरू वर्षको तुलनामा ठूलो हुने अनुमान रहेकाले सुरक्षाकर्मी, अन्य एजेन्सी र जिल्लास्तरीय विपद् समितिहरूलाई आवश्यक योजना बनाउन निर्देशन दिइसकिएको छ।”
यसपालि नेपालमै आधिकारिक पूर्वानुमान आउन अझै एक साता लाग्न सक्ने भए पनि विगतको अनुभवले सरकारले ढिलासुस्ती नगरिकन रणनीति बनाइसकेको छ। उनले टेम्प्लेट निर्माणदेखि लिएर विपद् प्रतिकार्यका लागि आवश्यक समन्वयका काम सुरु भइसकेको जानकारी दिए।
कार्यकारी प्रमुख भट्टले विपद् व्यवस्थापनमा सबै तहका सरकारबीच समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। साथै, विपद्का बेला क्षति न्यूनीकरणका लागि स्थानीय समुदायको सक्रियता निर्णायक हुने उनको भनाइ थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology