काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी सिंहदरबारमा औपचारिक रूपमा वितरण सुरु भएको छ। सोमबार सिंहदरबार परिसरमा आयोजित एक समारोहमा मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गरेका हुन्।
उनले मेलम्चीको पानी वितरणपछि सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिए। अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गरिने मन्त्री यादवले बताए।
मन्त्री यादवले खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उल्लेख गरे। उनले भने, "हामीले भनेका थियौं मेलम्चीको पानी सिंहदरबारमा ल्याउने। त्यो पानी सबै मन्त्रालयमा पु-याउने। सिंहदरबारभित्र जार र मिनरल वाटरका बोतलहरू चलिरहेका छन्, त्यसलाई बन्द गर्ने। त्यसैका लागि हामीले मेलम्चीको पानी सिंहदरबारमा सुरु गरेका छौं।"
मन्त्री यादवले प्रधानमन्त्री कार्यालयअघि नै खानयोग्य पानीको प्रयोग सुरु भएको जानकारी दिँदै अब यो पानी सबै मन्त्रालयमा विस्तार गरिने बताए। "अबदेखि जार र मिनरल वाटरका बोतलहरूको प्रयोग अन्त्य गर्छौं," उनले थपे। "यसको सुरुवात भइसकेको छ, अब यसको पाइपलाइन सबै मन्त्रालयमा पुग्छ।"
उनले मेलम्चीको पानीको वितरणलाई सुशासन, पारदर्शिता र जनताको सेवा गर्ने प्रतिवद्धताको उदाहरणका रूपमा प्रस्तुत गरे। सिंहदरबारमा भूमिगत पानी त आइरहेको थियो, तर मेलम्चीको पानीको औपचारिक आगमन पहिलो पटक भएको उनले उल्लेख गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology