बुटवल । सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलवार सभामुख तुलाराम घर्ती मगरलाई सम्बोधन गरेर पत्र लेख्दै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेकी हुन् । गुरुङ्क जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
सांसद गुरूङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ ।
सांसद गुरूङले राजीनामा दिएकोबारे सभामुखको सचिवालमा पत्र आईनसकेको सभामुखका प्रेस संयोजक रुद्रहरी कुँवरले जानकारी दिए । ‘हामीले पनि सामाजिक सञ्जालमा पत्र देखेर थाहा पायौं ।’ कुँवरले भने, ‘आधिकारीक रुपमा सचिवालयमा पत्र प्राप्त भएको छैन ।’
तर सांसद गुरूङले आफ्नो लेटरप्याडमा लेखेको हस्तलिखित राजीनामा पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । उनले लेखेको राजीनामा पत्रमा राष्ट्र देश जनताभन्दा माथि कोही नहुने भएकोले प्रदेश सांसद पदबाट राजीनामा दिएको उल्लेख छ ।
यता जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सिके) ले सांसद गुरूङले राजीनामा दिएकोबारे आफूलाई जानकारी नगराएको बताए । उनले भने, ‘राजीनामाबारे पार्टीलाई आधिकारिक रुपमा जानकारी छैन । मैले पनि यो खवर समाचार र तपाईहरु जस्तै पत्रकारहरूबाट थाहा पाएको हुँ ।’ सांसद गुरुङ्ग विगत केहि समयदेखि पार्टीको बैठक र संसदमा उपस्थित नभएको पार्टी निकट श्रोतले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology