काठमाडौं । नेकपा एमालेले यस वर्षको पार्टी स्थापना दिवसलाई विशेष बनाउने तयारी गरेको छ। पार्टी सचिवालयको सोमबार च्यासलमा बसेको बैठकले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जना व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’ को रूपमा सम्मान गर्ने निर्णय गरेको हो।
पार्टी उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार, वैशाख ९ गते हुने पार्टी स्थापना दिवसको अवसरमा सम्मानित हुने सातजनामा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्व. रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाकी बासस्वती देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी छन्।
त्यसैगरी, वैशाख ११ गतेको दिनलाई पार्टीले गणतन्त्रको उत्सवका रूपमा मनाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। ज्ञवालीका अनुसार, सो दिन ‘निरङ्कुश राजतन्त्र अन्त्य भएर गणतन्त्रको औपचारिक विजारोपण भएको’ दिन भएकोले, त्यसको स्मरणमा राजधानी काठमाडौंमा 'भव्य' कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रमको उद्देश्य आजको पुस्तालाई लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रताको महत्व बुझाउने रहेको उनको भनाइ छ।
सचिवालय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो भिडियो सन्देशबारे समेत छलफलमा भएको थियो। आइतवार सार्वजनिक गरिएको सन्देशमा शाहले अप्रत्यक्ष रूपमा गणतन्त्रप्रति असन्तोष जनाएको संकेत देखिएको भन्दै एमालेले त्यसप्रति आपत्ति जनाएको छ। ज्ञवालीका अनुसार, शाहमा अझै पनि पुरानो शासन प्रणाली फर्काउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष बैठकले निकालेको छ।
एमाले सचिवालय बैठकको निर्णयले दुई सन्देश दिन खोजेको देखिन्छ - एक, पार्टीले आफ्नो ऐतिहासिक आन्दोलन र योगदान बिर्सिएको छैन; दुई, गणतन्त्रको रक्षार्थ कुनै पनि पुनरुत्थानवादी सोचलाई एमालेले स्वीकार गर्नेछैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology