लुम्बिनी । रुपन्देहीका सामुदायिक र संस्थागत विद्यालयमा बौद्ध शिक्षा विषय अध्ययन अध्यापन गराउन प्रधानाध्यापकहरु एकमत भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायद्धारा बुधवार लुम्बिनीमा आयोजित “विद्यालयमा बुद्ध शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले विद्यालयमा बौद्ध शिक्षासम्बन्धी अध्ययन अध्यापन अत्यावश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा बौद्ध अध्ययन संकायले बुद्ध शिक्षासम्बन्धी तयार पारेको कक्षा ७ र ८ को पाठ्यक्रम सम्बन्धमा बोल्दै उनीहरुले स्थानीय पालिकाले स्थानीयमा समावेश वा छुट्टै पाठ्यक्रम बनाएर लागू गरे आफुहरु तयार रहेको बताए ।
बुद्ध शिक्षा कार्यक्रम अन्तर्गत बौद्ध अध्ययन संकायले तयार पारेको कक्षा ७ र ८ को पाठ्यकमका विषयहरु प्रस्तुत गर्दै बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्यले स्थानीय तहमा रहेका शैक्षिक संस्थामा गौतम बुद्धले दिएको शिक्षा विद्यार्थीलाई सिकाउने ध्येयले पाठ्यक्रम तयार पारिएको बताए । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई नैतिकता र सदाचारको शिक्षा दिनका लागि बुद्ध शिक्षामा आधारित पाठ्यक्रम निर्माण भएको उनले जानकारी दिए ।
विश्वविद्यालयका सहायक प्राध्यापक कमल थापाले बुद्धको शिक्षा अपरिहार्य रहेकोमा जोड दिदै सबै मिलेर यसलाई विद्यालयस्तरमा लागू गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल शिक्षक महासंघका सचिव चण्डी प्रसाद पाण्डेले स्थानीय पालिकासँग समन्वय गरी विद्यालयमा बुद्ध शिक्षा कार्यक्रमलाई अभियानकै रुपमा लैजान विश्वविद्यालयलाई सुझाव दिए ।
कार्यक्रममा भानु माविका प्रधानाध्यापक मोतिलाल सुवेदी, बेलहिया माविका प्रधानाध्यापक विना भण्डारी, पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेत, सेमरी सामुदायिक माविका तिर्थ प्रसाद विश्वकर्मा, उपेन्द्र अधिकारी लगायतले विश्वविद्यालयको प्रयासको प्रशंसा गर्दै कक्षा १ देखि नै बौद्ध शिक्षा सम्बन्धी पाठ्यक्रम लागू गर्नुपर्ने धारणा राखे ।
विद्यार्थीलाई भगवान गौतम बुद्धको जन्मस्थलबारे परिचय दिन, बौद्ध शिक्षाबारे जानकारी दिन र बौद्ध कला, साहित्य र संस्कृतिसम्बन्धी शिक्षा दिने उद्धेश्यले बौद्ध अध्ययन संकायले कक्षा ७ र ८ को पाठ्यक्रम तयार गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology