देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सोमवार विद्यालय प्राङ्गणमा खाना महोत्सव, अभिभावक खेलकुद र विज्ञान प्रदर्शनी सम्पन्न भएका छन् ।
विद्यालयका होटल म्यानेजमेन्ट सङ्कायका विद्यार्थीहरूले खाना महोत्सवमा बिभिन्न परिकारहरू तयार परेका थिए । अभिभावक, शिक्षक तथा अतिथिहरूलाई विद्यार्थीहरूले नै तयार गरेको परिकार खुवाइएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्न यस्ता गतिविधिहरू प्रभावकारी हुने विश्वास गरिएको छ ।
अभिभावक खेलकुद प्रतियोगिता अन्तर्गत बेलुन ब्लास्ट, तातो आलु, मटका फोड जस्ता खेलहरू आयोजना गरिएका थिए । अभिभावक खेलकुदका बिजेताहरूलाई विद्यालयले पुरस्कृत गर्ने जनाएको छ ।
त्यस्तै विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक अवधारणा तथा प्रयोगहरू प्रदर्शन गरेका थिए । विद्यार्थीले बनाएका केबुलकार, रकेट, मन्दिर, पहाड, दूरबिनलगायत विभिन्न सामग्रीलाई अवलोकनमा गएका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले निकै रुचि दिएर हेरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय सहभागी रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology