देवदह । रुपन्देहीको देवदहमा प्रार्थना व्यवस्थापन, असल विद्यार्थी र अभिभावकत्व सम्बन्धी दुई दिने उत्प्रेरणा कार्यक्रम सुरु भएको छ । देवदह–७ मा अवस्थित देवदह माध्यमिक विद्यालयमा मंगलबार एक समारोह विच कार्यक्रम उद्घाटन गरिएको हो ।
उत्पे्ररणा कार्यक्रम अन्तर्गत मंगलवार उद्घाटन पछिको सेसनमा प्रशिक्षक हरिश ओलीको प्रस्तुती रहेको थियो ।
विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा उत्प्रेरक ओलीले आफुले जीवनमा भोगेका भोगाईलाई कलात्मक रुपमा प्रस्तुत गरे ।
देशका बिकट र दुर्गम ठाउँमा प्रशिक्षण दिदैं गर्दा आफुले संकलन गरेका त्यहाँका विद्यार्थीहरुका जीवन भोगाई र संघर्षलाई भिडियो मार्फत प्रस्तुत गरी उपस्थित सबैलाई भावुक बनाए ।
सो अवसरमा उनले आमा, बुवा र गुरु जीवनमा कहिल्यै गलत नहुने भन्दै उनीहरुको अनुसरण गर्न विद्यार्थीहरुलाई निर्देश गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डेले हरेक बर्ष उत्प्रेरणाका कार्यक्रमहरु आयोजना गर्ने जानकारी गराउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप उर्जा प्राप्त हुने उल्लेख गरे ।
शिक्षक इन्दिरा अर्यालले विद्यार्थी जीवनमा उत्प्रेरणा कार्यक्रमले सकारात्मकता प्रदान गर्ने बताउँदै शिक्षाको गुणस्तर बृद्धि गर्न समेत कार्यक्रम फलदायी हुने दावी गरिन् ।
कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको अध्यक्ष सुरज खरेलले बताए । २ दिनसम्म संचालन हुने उत्प्रेरणा कार्यक्रममा बुधवार अभिभावकहरुको समेत उपस्थिति रहने अध्यक्ष खरेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology