देवदह । 'बहुआयामिक शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला' शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा देवदह माध्यमिक विद्यालयका छात्रा रेविका नेपाली प्रथम भएकी छन् । नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १ रुपन्देहीले १११औं विपी जयन्तीको अवसरमा देवदहको खैरेनीमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका छात्रा दीक्षा केसी द्वितीय भएकी छन् भने सरस्वती माध्यमिक विद्यालयकी छात्रा कोपिला मल्लाह तृतीय भएकी छन् । केरवानी माध्यमिक विद्यालयकी संस्कृति क्षेत्री र सगरमाथा माध्यमिक विद्यालयकी शिक्षा पौडेल सान्तवना भएका छन् ।
प्रतियोगितामा सहभागीताका लागि ६० वटा विद्यालयलाई पत्रचार गरिएकमा रूपन्देही क्षेत्र नं १ अन्तरगत रहेका ४२ वटा विद्यालयले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमश: ११ हजार, आठ हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसहित प्रमाण-पत्र र सहभागी सम्पूर्ण विद्यार्थी र विद्यालयलाई सहभागीताको प्रमाण-पत्रको साथमा विपी कोइरालाको पुस्तक प्रदान गरिएको छ ।
वि.स. १९७१ भाद्र २४ गतेका दिन जन्मिएका विपी कोइरालाको जन्मजयन्ति र स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गर्दै आएको छ । देवदहमा गतसाल आयोजना गरिएको प्रतियोगितामा ३५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा देवदह आएका थिए । कार्यक्रममा बोल्दै उनले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाई नगर्न आग्रह गरे । १११औं विपीजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समिति रूपन्देही क्षेत्र नं १ ले आयोजना गरेको वक्तृत्वकला कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्रीलाई बुटवल-नारायणगढ सडकखण्डमा यात्रा गर्न आग्रह गरे ।
"एउटा अन्तराष्ट्रिय कम्पनीले निर्माण गरिरहेको यो सडकमा यात्रा गर्ने क्रममा मैले निकै अफ्ठेरो महसुस गरें ।" उनले भने, "यो सडक निर्माणमा ढिलाई गरिनु हुन्न । प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई म यस सडकमा यात्रा गर्न अनुरोध गर्दछु ।"
फरक प्रसंगमा बोल्दै महामन्त्री शर्माले विकासको सुरूवात विपी कोइरालाले गरेको बताए । त्रिभुवन विश्वविद्यालय लगायतका आधुनिक विकासका कार्य नेपाली कांग्रेसकै कारण भएको उल्लेख गर्दै उनले देशको विकास गर्न सक्ने पार्टी नै नेपाली कांग्रेस भएको दावी गरे ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले विपी बहुआयामिक व्यक्ति भएकोले विद्यार्थीले विपीलाई बुझ्नुपर्ने बताए । राजनीति, साहित्य सबैतिर विपी कोइरालाको योगदान अतुलनिय रहेको उनको भनाई छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक, केन्द्रिय सदस्य गङ्गा शाही, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, जिल्ला सहसचिव वासुदेव रिमाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology