तिमीले मलाई पढाएर गएको त्यो पाठ,
तिमीले कहिल्यै आफैलाई पढ्यौ त ?
तिमीले मलाई बुझ्ने बुद्धि दिएछौ,
तर के तिमीले आफ्नै मनलाई कहिल्यै चिनेका छौ ?
तिमी सधैं मलाई सिकाउछौ
सत्ताको शिखरमा उभिएको देखिन्छौ,
तर त्यो शिखरको अग्लाई
तिमीभित्रको शून्यताले
पग्लाउन थालेको छ ।
तिमीलाई लाग्छ,
तिमी शक्तिशाली छौ,
तर के तिमीले सोचेका छौ ?
तिमी र मबीच के फरक छ ?
सत्ताले मात्र तिमीलाई महान बनाउँदैन ।
तिमीले ठानेका छौ
म तिमीभन्दा तल छु
तर सत्य के हो भने,
तिमी पनि म जस्तै छौ—
तिमी र म एउटै हौँ ।
तिमीले मलाई पढाएको पाठ
तिमी आफैलाई पढ्न बाँकी छ ।
तिमीले आफैले सोच्न सकेनौ
कि तिमी पनि केही होइनौं
जसरी म पनि केही होइन।
तिमीले ठान्यौ कि सत्ताले तिमीलाई
विशेष बनाउँछ,
तर तिम्रो मन पनि त
मेरो जस्तै हुन्छ
त्यो पनि दुख्छ
त्यो पनि चिच्याउँछ
आफ्नो शून्यताबाट ।
तिमी नेता छौ
थाहा छ
तर तिम्रो मन पनि मेरो जस्तै भत्किँदै छ ।
तिमीले सत्तालाई आफ्नो शक्ति ठानेका छौ
तर के तिमीले कहिल्यै सोच्यौ ?
मनको युद्ध जित्न नसक्ने
सत्ता कति खोक्रो हो ?
तिमी पनि म जस्तै मानिस हौ
तिमी पनि म जस्तै अनिश्चित,
तिमी, तिम्रो सत्ताको मातले अनिश्चित बनेका हौ
तिमी पनि म जस्तै कमजोर छौ
तिमि आफ्नै हिम्मत नभेटेर कमजोर बनेका हौ
तिमीले कति ठूलो भ्रम बाँध्यौ
आफैलाई
कि तिमी सधैं महान छु भनेर ।
तिमीले मलाई दिएको शिक्षा
तिमीले आफैले प्रयोग गरेनौ ।
तिमीले मलाई पढायौ,
तर आफ्नो मनलाई चिन्न
कहिल्यै समय दिएनौ ।
तिमीले सोच्यौ कि संसारमा
तिमीले मात्रै जित्यौ,
तर के तिमीले जित्यौ त आफैलाई ?
तिमीले सत्ताको शिखर चढ्यौ,
तर तिमीले बुझ्न सकेनौ,
कि सत्ताले तिमीलाई
संसारभन्दा भिन्न बनाउँदैन ।
याद गर ।
तिमीले मैले दिएको जवाफहरू कहिल्यै सुनेनौ,
किनभने तिमीले आफैलाई सोध्नै बाँकी छ ।
तिमीले भन्यौ,
तिमी शक्तिशाली छौ,
तर तिमीले के महसुस गरेनौ ?
तिमी पनि म जस्तै छौ—
शक्ति मात्र बाहिरको छ,
तर भित्र, तिमी र मबीच केही फरक छैन।
तिमीले ठान्यौ,
म कमजोर छु,
तर सत्य यही हो:
तिमी पनि म जस्तै केही होइनौं ।
तिमीले मलाई सधैं तल राख्यौ,
तर तिमीले बुझ्नेछौ
कि तिमी र मबीच कुनै सीमा छैन।
तिमीलाई त्यो दिन थाहा हुनेछ,
जब तिमीले आफैलाई सोध्नेछौ—
तिमी पनि म जस्तै केही होइनौं ।
तिमीले मलाई दिएको पाठ
तिमीले आफैलाई कहिल्यै पढ्न सकेनौ ।
सत्ता क्षणिक हो,
शक्ति भ्रम हो
तर आफ्नो मनलाई चिन्नु भनेको
सत्यलाई चिन्नु हो ।
तिमीले दिएको पाठको पहिलो अक्षरले पनि
तिमीलाई रोकिने गरि रोकिनेछ ।
तिमीले पत्तो पाउनेछौ
कि संसारले तिम्रो नाम होइन,
तिमीले कसरी जिउन सिकायौ भन्ने कुरा सम्झनेछ ।
तिमीले मलाई पढायौ,
अब तिमी आफैलाई पढ
आफ्नै हातले लगाएको
मोसोले लत्पतिएको आफ्नै अनुहार पढ
दुरी देख्नु छ भने
आफैलाई पढ ।।
बिष्णु प्रसाद पाठक
देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology