Logo

२०८३, श्रावण २७गते


images
images

समुन्द्रपारि

थलिएको अर्थतन्त्र उठे 'महेन्द्र' स्वदेश फर्किन्छन्

थलिएको अर्थतन्त्र उठे 'महेन्द्र' स्वदेश फर्किन्छन्

images
  • थलिएको अर्थतन्त्र उठे 'महेन्द्र' स्वदेश फर्किन्छन्
    images
    images

    जीवनमा आउने उतारचढावले मानव जीवनलाई विभिन्न पात्रका रुपमा परिचित गराउँछ । जन्मिदै त्यस्तो कुनै अलंकार बोकेर नआएपनि मानिसको मेहनत, परिश्रम र लगावले उसको पहिचान र परिचय स्थापित हुनेगर्छ । पहिचानको खोजीका लागि भुगोल र परिवेश फरक हुन सक्छ तर संघर्षको कथा ब्यथा उस्तै हुन्छ ।  यस्तै सात समुन्द्रपारी आफ्नो सुन्दर भविष्यको खोजीमा संघर्षरत पात्र हुन् - देवदहका महेन्द्र अर्याल ।

    images
    images
    images

    आमा राधिका र बुवा मार्कन्ड आर्यालको एकल सन्तानका रुपमा गुल्मी जिल्ला मुसिकोट नगरपालिका आपचौरमा बि सं २०५३ साल मंसिर २० गते जन्मिएका महेन्द्र अर्यालको जीन्दगीमा त्यस्तो कुनै कमी थिएन । बुवा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया भएका कारण पनि उनको जीवनयापन ठिकठाक चलिरहेको थियो । प्राथमिक शिक्षा गुल्मीको तत्कालिन शिव शंकर निम्न माध्यमिक विद्यालय, पोलारिस बोर्डिङ हुँदै बुद्ध पब्लिक स्कूल देवदहबाट महेन्द्रले माध्यमिक शिक्षा पूरा गरे ।

    images
    images
    images

    पढ्दै कमाउँदै गर्ने आशामा चीन हानिए

    images
    images
    images

     सगरमाथा कलेजबाट प्लस टु को अध्ययन सकाएसंगै २०७२ सालमा उनी पढ्न चीन जाने निर्णय गरे । त्यसबेला उनको उमेर जम्मा १८ बर्षको थियो ।

    बुवा बैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेकाले घरमा आमासंगै रेहका महेन्द्रलाई अध्ययनको लागि चीन जाने कुराले निकै उत्साहित बनाएको थियो । कहिल्यै घर नछाडेका महेन्द्रलाई शुरुमा घर परिवार र साथी भाइको याद कसरी बिर्साउने भन्ने चिन्ता पनि थियो । तर लामो समय आफुहरुलाई छाडेर बिदेश रहेका बुवालाई सम्झिएरै महेन्द्रले आफ्नो चित्त बुझाए ।

    चीनको नान्तोङ भोकेस्नल युनिभर्सिटीमा पढाई शुरु भएपछि पढाईको लागि गर्नुपर्ने मेहनत, त्यसमाथि पढ़ाई खर्च जुटाउनका लागि दिनरात गर्नुपर्ने परिश्रम । बुवा विदेश भएपनि घरमा आमासंग एक्लै सुख काटेर बसेका महेन्द्रलाई शुरुवाती दिनहरुमा चीन किन आएछु भनेर निक्कै पिडा भयो । उनी भन्छन्, ‘घरपरिवार र साथिभाईको यादले धेरै पटक म एक्लै बसेर रुने गर्थे ।’

    नेपाल छँदा आँफुले सोँच्ने सपनाको देश जब बिपनामै परिणत भएपछि केहि महिनामै उनी अभ्यस्त हुन थाले । उमेर अनुसारको रमझम र रमाईलोले उनलाई नछुने कुरै भएन । त्यहाँ घुलमेल हुन थालेपछि महेन्द्रलाई चीनमानै सेटल हुने बिचार नआएको पनि होइन । हरेक दिन बिहान ३ घण्टा चाईनीज भाषा सिक्ने र दिउसोमा अंग्रेजी पढ्ने गर्दैगर्दा उनको करिव ६ महिना बित्यो । पूर्ण छात्रबृत्तिमा पढ्न पाईने र पढेबापत उल्टै ४÷५ हजार युयान अर्थात नेपाली ६०÷७० हजार रुपैंया पाइन्छ भनेर नेपालको कन्सल्टेन्सी मार्फत उनी चीन गएका थिए । तर ६ महिनाको भाषा कोर्ष पुरा भएपछि थप कोर्ष गर्नका लागि त्यहाँ पैसा तिर्नुपर्ने भयो । त्यसपछि आँफुलाई युनिभर्सिटी भर्ना हुन आग्रह गरिएको तर आलटाल गरेरै भर्ना नभई बसेको उनले सुनाए । महेन्द्रले भने, ‘होटल म्यानेजमेन्टमा मलाई खासै ईन्ट्रेष्ट थिएन । नेपालमा भर्खरै सुरुभएको यो विषयको हल्लीखल्ली धेरै भएकाले स्थानीय सगरमाथा कलेजमा भर्ना भइयो । यसै बिचमा कन्सल्टेन्सीले चीनमा अध्ययन गर्ने अफर सुनाएपछि त्यतै हानियो ।’ 

    खर्च गरेर पढ्नुपर्ने भएपछि नेपाल फिर्ता

    घरको एक्लो छोरा, सानो परिवार, सुखसँगै हुर्केका उनी । बा–आमाले सकेको सुख दिएकै थिए । त्यसैले पनि होला महेन्द्र सानैदेखि सोँच्ने गर्थे, ‘ठुलो भएपछि जति दुख गर्नुपर्छ म गर्छु । तर, बा–आमादेखि टाढा हुन्न र उहाँहरुलाई दुःख गर्न पनि दिन्न ।’ बुवाआमाको सबै सपना अनि रहरहरू साथमै रहेर पूरा गर्छु भन्ने सोच उनमा आउँथ्यो’। त्यसैले महेन्द्र आफू अध्ययन गर्न गएको कोर्स होटेल म्यानेजमेन्ट पूरा नगरि २ बर्ष चीन बसाईलाई बिट मारेर २०७५ सालमा उनी नेपाल फर्किए ।

    बुवासंगै यातायात व्यवसायमा संलग्न

    जीवन अवसर र चुनौतिको श्रृंखला हो भन्ने कुरा बढ्दो उमेरसंगै सिकेका महेन्द्रले बिस्तारै आफ्नो भविष्यको बाटो कोर्दै थिए । महेन्द्र चीनबाट फर्किनुअघि उनका बुवासमेत बैदेशिक बसाइलाई अन्त्य गरेर नेपाल फर्किएका थिए । बुवाले मलेसियाबाट फर्किएपछी नेपालमा एउटा मिनी बस किनेर चलाएका थिए । नारायणगढ – बुटवल चल्ने बसबाट राम्रै आम्दानी हुन्थ्यो । घरखर्च चलाएर केहि पैसा बचत हुने देखेका महेन्द्रले आफू चीनबाट घर फकिएपछी पुनः अर्को बस थपे । जसबाट सिजनमा मासिक ६० देखि ७० हजार रुपैंयासम्म कमाइ हुन्थ्यो । बसबाट अर्याल परिवारको जिन्दगी राम्रैसंग चलेको थियो । एकाएक सरकारले यातायात व्यवासायीलाई प्रालि.मा ब्यवस्थापन गर्न निर्देशन गरेपछि १÷२ वटा बस तथा सवारीसाधन भएका यातायात व्यवसायीहरु मारमा परे । राज्यले अघि सारेको नीतिका कारण बस संचालन गर्न समस्या पर्ने भएपछि अर्याल परिवारले आफुहरुसंग भएको एउटा गाडी बेच्ने निर्णय ग¥यो ।

    महेन्द्र (1)-min.png

    बसमा आम्दानी घटेपछि कृषि फार्म संचालन

    महेन्द्रको एउटा गाडी चलाउन नसकेर रोकिएपनि उनी भने यतिमै रोकिनन् । उनलाई देशमै केही गर्छु भन्ने हुटहुटी थियो । अझ आफ्नै पौरख र पसिनाको भरमा केही गर्नु थियो । उनलाई भाग्यमा भन्दा मेहनत र पसिनामा विश्वास लाग्थ्यो । त्यसैले उनले आफ्नै माटोमा पसिना बगाउने निधो गरे ।  महेन्द्रले २०७६ सालमा देवदहको घोडाहामा १० कट्ठा जमिन भाडामा लिए । उनले करिब ३० लाख लगानीमा पशुपालन फर्म सुरु गरे । ‘हाम्रो कृषि तथा पुशुपालन फर्म’ नाम राखेर सुरुवात गरिएको उक्त फर्ममा बाख्रा, कुखुरा र हाँस राखिएको थिए ।

    कोभिडको सुरुवाती चरणमा फार्मबाट राम्रो आम्दानी

    फर्म सुरुवात गरेको साता दिन नबित्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कहर नेपालमा पनि सुरु भयो । देशब्यापी रुपमा सुरु भएको लकडाउनका कारण जनजीवन अस्तब्यस्त बन्यो । तर उनको व्यवसाय भने फस्टाउँदै गयो । लकडाउनमा घरबाट बाहिर निस्कन नमिल्ने र सुप तथा तातो खानेकुरा खानुपर्ने मान्यताका कारण त्यतिबेला आँफुले मासु तथा कुखुरा होमडेलिभरी गरेर भ्याइनभ्याई हुने गरेको उनले सुनाए ।

    कोभिडका कारण विस्तारै बजार सिथिल बन्दै गयो

    पहिलो लकडाउनमा कोरोनाप्रति आम नागरिकको जति डर र त्रास थियो दोस्रो र तेस्रोमा क्रमशः घट्दै गयो । जनजीवन विस्तारै सामान्य बन्दै थियो । लामो समय बजार स्थिर भइ चलायमान हुन नसक्दा मानिसको क्रयशक्ति भने क्रमश: घट्दो थियो । तर महेन्द्रको मार्फमा बाख्रा, हाँस र कुखुराको संख्या बढ्दो थियो । कृषि फार्म निकै व्यस्त रहेका बेला महेन्द्रसंग १ सय ३० वटा बाख्रा र २ सय ५० भन्दा बढि कुखुरा अनि हाँस थिए ।

    फर्ममा दिन प्रति दिन बाख्रा, कुखुरा, हाँस बजारका लागि क्रमशः तयार हुँदै गए । सानोबाट सुरु गरेको फर्म दिनहुँ  विशाल हुँदै गयो । अर्कोतर्फ महेन्द्रसंग रहेको एउटा बस चालक खोजेर गुडाउनुपर्ने बाध्यता समेत थियो । एकातर्फ बस र अर्कोतर्फ फार्म । उनको परिवारले मात्र ब्यवस्थापन गर्न नसकिने अवस्थामा पुगेपछि उनले फार्मको लागि कर्मचारी खोजे । बुवा आमासंगै फार्मलाई संचालन गरिरहेका महेन्द्रले पटक पटक गरि ३ जना कर्मचारी समेत राखे । तर कृषिमा कामगर्ने कामदार नटिक्ने नेपालको साझा समस्याको शिकार उनी पनि भए ।

    कामदारको समस्या एकातिर थियो भने अर्कोतर्फ कोभिडका कारण थलिएको बजार अस्तब्यस्त थियो । देशमा एक किसिमको आर्थिक मन्दि सुरु भइसकेको थियो । आर्थिक मन्दिपछि बजारमा उपभोग पनि पनि कम हुन थाल्यो । मानिसले आफुलाई आवश्यक खाद्यान्न तथा सामग्री आफै उत्पादन गर्न थाले । मासु खाने मान्छे बिस्तारै घट्दै गएपछि महेन्द्रले संचालन गरेको फार्म बिस्तारै साँघुरीदै गयो । यसरी साँघुरिएको व्यवसायका कारण उनलाई दाना किन्ने खर्च जुटाउन समेत हम्मेहम्मे पर्न थाल्यो ।

    यता बिशेष परिस्थिति बाहेक यात्रा नगर्ने परिपाटीको विकास हुँदै गएपछि बसमा पनि यात्रुको चाप दिनप्रतिदिन कम हुँदै थियो । जसका कारण बस व्यवसाय समेत जोखिममा परेको महेन्द्रले गुनासो गरे । यसरी आफुले गरेका दुवै व्यवसाय समस्याग्रस्त बनेपछि उनलाई जीवनको कठिन मोडबाट गुज्रिन पर्यो । समस्याको चाङले उनको कृषि र बस व्यवसाय प्रतिको मोह घट्यो । उनी भन्छन् ‘राज्यले ठोस नीति नियम ल्याउनु पार्ने हो तर किसान र व्यवसायीलाईलाई सामान्य कुरा पनि दिनसकेको छैन । नितान्त वैज्ञानिक र प्राविधिक रुपमा लिईनुपर्ने कृषि र पशुपालन अझै पनि परम्परागतरुपमा नै चलिरहेको छ ।’ उनी थप्छन् ‘काम गर्ने मान्छे पाइदैन, मल बीउ पाइदैन, उत्पादन गरेपछि बजार पाइदैन अनि यसरी कतिन्जेल चल्ने ? त्यसैगरि यातायात क्षेत्रमा पनि यात्रु कम हुने तर बैङ्कको व्याज चर्को हुने समस्या छ ।' जसले व्यवसायीलाई सिथिल बनाएको उनको भनाई छ ।

    व्यवसायको असफलतापछि रोजगारीको लागि मलेसिया

    असफलता अन्तिम गन्तव्य होइन भन्ने महेन्द्रलाई राम्रै हेक्का थियो । उनले असफलतालाई केवल एक मार्गदर्शनका रुपमा लिने गर्थे । कमजोर बन्दै गएको व्यवसायले चिन्तामा परेका महेन्द्रलाई उनका बुवाले काम गरेको मलेसियन कम्पनीबाट फोन आएको जानकारी भयो । राम्रो पढेलेखेको काम गर्न सक्ने मान्छे भए पठाइदिन भन्ने खबर पाएपछि महेन्द्रका बुबाले उनलाइ सुनाए । आर्थिक मन्दिका कारण कृषि कर्मबाट हार खाएका महेन्द्रले नेपालमा अन्य अवसर देखेनन् र तयार भए सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न ।

    अझै कति समय बिदेशी भुमिमा गुजार्नुपर्ने हो, त्यसको टुंगो महेन्द्रलाई छैन । स्वदेशमै केही उद्यम गरेर बाँच्ने रहर पालेका उनलाई अझै नेपलामा केही गरेर आँफु बाँच्न सकिन्छ कि भन्ने आशा चाँही मरेको छैन । तर त्यसको लागि सिथिल भएको नेपाली अर्थतन्त्र र थलिएको नेपाली बजार कहिले उठ्न सक्ला भन्ने पर्खाइमा महेन्द्र छन् ।

    यसरी देशमा दश नङ्ग्रा खियाउँदा पनि केही सिप नलागेपछि २०८० सालको असारमा उनले मलेसियाको बाटो समाते । देशलाई माया गर्ने र नेपालमै बसेर केहि गनुृपर्छ भन्ने उनको सपना असारमा परेको झरीले बगाइरहेको थियो । आमाबुवाको काख छाडेर बाध्यताले बिदेशीनुपर्दा झरीले वातावरण भिजेसरी उनका आँखा आँशुले भिजिरहेका थिए । तैपनि उनले आफुलाई सम्हालेरै एयरपोर्टसम्म पु¥याए । जहाजको झ्यालबाट पहिलोपटक मलेसिया नियाल्दा जताततै मरुभूमि अनि बालुवा मात्र देखेर महेन्द्रको मन झसङ्ग भएको थियो । अनुहारको रङ्ग एकाएक उडेको थियो । मन मरूभूमिजस्तै उजाडिएको थियो ।

    मलेशिया पुगेका महेन्द्रलाई परदेशमा एउटा काम भनेर अर्कै काम लगाईन्छ भन्ने पिरले सुरुमा सताउथ्यो । तर उनले त्यस्तो दुःख खेप्नु परेन । किनकी महेन्द्र उनका बुबाले १४ वर्ष बिताएको कम्पनीमा गएका थिए । उनी जुन कामलाई भनेर गएका थिए, त्यही काम पाए । काम गर्न त्यति असहजता भोग्नु परेन । चीनमा होटल म्यानेजमेन्ट पढ्न गएका महेन्द्र चीनकै नागरिकले मलेशियामा संचालन गरेको आटा कम्पनीमा प्याकिङ अपरेटर बन्न पुगे । उक्त कम्पनीले मलेसिया, सिंगापुर, ब्रुनाइ जस्ता अन्य देशमा आटा निर्यात गर्छ ।

    दैनिक १२ घण्टा मेहनत गरेर मासिक ८० हजार कमाई

    महेन्द्र मलेसिया आएको एक वर्ष भयो । बिहान ८ बजे काममा जाने र बेलुका ८ बजे कामबाट फर्किने गर्छन् । व्यस्तताको कारण उनले समय गएको पत्तो पाउदैनन् । दिनको १२ घण्टा ड्युटी गरि रुममा आएर खान पकाउँदा खाँदा राती ११ बज्छ । उनी सुनाउँछन् ‘सुत्ने बेला परिवारको तस्बिर आँखाभरी नाच्न आइपुग्छ, तर दिनभरको थकानले शरीर यसरी थाकेको हुन्छ, ओछ्यानमा पल्टनासाथ निदाइहाल्छु ।’ उनलाई हरेक आईतबार भने फुर्सद हुन्छ । उक्त दिन बिदा पर्ने भएकाले उनलाई घुमफिर र साथीभाइसँग भेटघाट गर्ने मौका जुर्छ ।

    महेन्द्र रोजगारीका लागि विदेशिनु भनेको मेसिनको जिन्दगी बाँच्न तयार हुनु भएको बताउँछन् । न खाने समय हुन्छ, न सुत्ने ! दिनरात दौडिएरै समय काट्नुपर्छ । बिरामी हुँदा तातो पानी सोध्ने कोहि हुदैन । कहिलेकाहीँ त ज्यानै रहला कि नरहला भने जस्तै हुन्छ । तर परिवारको खुसी र आफ्नो भविष्यका लागि मेसिनजस्तै भएर बाँच्नुपरेको उनी गुनासो गर्छन् । मलेसियामा कडा मेहनत गरिरहेका महेन्द्रले अहिले मासिक ८० हजार रुपैंया कमाउँछन् । मेहनत गरेर कहिल्यै नथाक्ने स्वभावका महेन्द्र नेपाल फर्किने बेला अलि अलि पैसा जोगाउन सकियोस्, परिवारलाई राम्रो खुवाउन, राम्रो लगाउन सकियोस् र उनीहरूलाई राम्रो जीन्दगी दिन सकियोस् भन्ने पिरमा बेलाबेला घोत्लिन्छन् ।

    थलिएको नेपाली अर्थतन्त्र कहिले उठ्ला भन्ने पर्खाई

    अझै कति समय बिदेशी भुमिमा गुजार्नुपर्ने हो, त्यसको टुंगो महेन्द्रलाई छैन । स्वदेशमै केही उद्यम गरेर बाँच्ने रहर पालेका उनलाई अझै नेपलामा केही गरेर आँफु बाँच्न सकिन्छ कि भन्ने आशा चाँही मरेको छैन । तर त्यसको लागि सिथिल भएको नेपाली अर्थतन्त्र र थलिएको नेपाली बजार कहिले उठ्न सक्ला भन्ने पर्खाइमा महेन्द्र छन् । ‘परदेश सबैलाई उस्तै हुँदैन । कसैले एकदमै राम्रो कमाइ गर्छन्, कसैले मध्यम स्तरको । कोही त अलपत्र परेर फर्कनुपर्ने अवस्था पनि छ ।’ महेन्द्रले भन्छन् , ’मैले मध्यम स्तरको कमाइरहेको छु । परिवार खुसी राख्न सकेको छु । यही सम्झेर चित्त बुझाउँछु ।’

    मलेसिया आएर सबैभन्दा बढी जानेको मेहनेत गर्न नै हो भन्ने उनी जस्तोसुकै अवस्थामा पनि मान्छेले मेहनेत गर्न छाड्न नहुने बताउँछन् । आफु परिवार र मातृभूमिको अगाध माया छातीभरि बोकेर आएको स्मरण गर्दै महेन्द्र अब केही हिम्मत र बिश्वास लिएर यहाँबाट फर्किने प्रण गर्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।