बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवल–७ दीपनगरस्थित बाजेबजै थान परिसरमा वृक्षरोपण गरेको छ । मंगलबार बाजेबजै थानमा अशोका, गुलमोहर, टीक, धुपी, तेजपत्ता, अमला, वेगनवेली लगायत प्रजातिका करिब ५ सय विरुवा लगाइएको संघका बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे मगरले जानकारी दिए ।
बुटवल उपमहमनगरपालिका वडा नं ८ निवासी ९६ वर्षीय जेष्ठ नागरिक देउकली सारुमगरद्वारा आफ्नै सौजन्यमा धुपीका विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरिएको फोनिज रूपन्देहीका अध्यक्ष सोनु थापा मगरले बताए ।
वृक्षारोपण पश्चात आयोजित कार्यक्रममा बोल्दै संघका रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे मगरले पछिल्ला समय जलवायु परिवर्तनको व्यापक असर देखिन थालेकोले यसको असर न्युनिकरणका लागि एक मात्र उपाय वृक्षारोपण रहेको बताए । विरुवा रोप्ने कार्य गरेर मात्र नपुग्ने बताउँदै उनले रोपिएका विरुवाहरुको संरक्षण आवश्यक रहेको औंल्याए ।
वृक्षारोपण कार्यक्रमका नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष एवं संघका बुटवल उपमहानगर निवर्तमान अध्यक्ष थर्क बहादुर बारघरे मगर, सल्लाहकारहरु इन्जिनियर गमप्रसाद रेस्मी मगर, गोपाल चौहान मगर, प्रेम गलामी मगर, संघका नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकीमगर लगायत पदाधिकारी तथा नेपाल मगर संघ बुटवल उपमहानगर १९ वटै वडाका अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगरस्थित बाजेबजै थानमा यस क्षेत्रमा रहेका मगर समुदायले धार्मिक र सांस्कृतिक विस्वास र आस्थाको केन्द्रको रुपमा सदियौंदेखि पुजाआजा गर्दै आइरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology