म
नेता होइन,
सफल किसान, व्यापारी अनि उद्यमी बन्न सकुँ
भ्रष्ट होइन, स्वाभिमानी बनुँ
बेइमानीको कलंक भिर्नु छैन मलाइ, सधै इमान्दार बनिरहन पाउँ
झोले कसैले नभनुन्
झोला बोक्नै परे, दीन-दु:खी अनि असहायहरुको बोक्न परोस् ।
सबल र सक्षम बन्न सकुँ, अल्छी होइन,
म जोसिलो, जागरिलो अनि फुर्तिलो बन्न सकुँ
परनिर्भरता मलाइ पटक्कै मन नपरोस्
मलाइ सधै आत्मनिर्भर बन्ने हुटहुटी रहिरहोस् ।
मलाइ गफाडी कसैले नभनुन्
चिया चौतारा अनि भट्टिहरुमा म नभेटिउँ,
बरु मान्छेरु मलाइ खेतबारीमा कुटो कोदालोसहित भेटुन्
छि ! अरुका कुरा काटेर नि के दिन बिताउनु,
मलाइ नयाँ ज्ञान अनि सीप लिन फुर्सद मिलिरहोस् ।
मेरो मन मष्तिस्कमा गलत सोच अहिल्यै नआओस्,
ता कि मैले कहिल्यै कसैको कुभलो चिताउन नपरोस् ।
मलाइ अधर्मी कसैले नभनुन्
बरु मठ, मन्दिर नपुजौला,
तर दुई छाक खान नपुग्ने र मृत्यु शैयामा छटपटाइरहेकाहरुको गाँस अनि स्वास बन्न सकुँ ।
यति गर्दागर्दै पनि म समाज र राष्ट्रको लागि योग्य बन्न सकिन भने,
मेरा छोराछोरिको लागि असल बाबू बन्न सकुँ
आमा बुवाको लागि जिम्मेवार छोरो बनिरहुँ
श्रीमतिको लागि प्रेमिल जीवनसाथी बनुँ
साथिभाइको लागि अटल बिश्वास बन्न सकुँ
नयाँ बर्षले मभित्रको मलाई चिनाइदिओस्
शुभकामना । ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology