काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा इजरायलमा मारिएका चार नेपालीको शव धनगढी पुर्याइएको छ । उनीहरुको शव आफन्तले जिम्मा लिइसकेका छन् ।
काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत शव धनगढी पुर्याइएको थियो । धनगढी विमानस्थलमै आफन्तहरुले शव जिम्मा लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
कटेलले कान्तिपुर टेलिभिजनसँग भने, ‘सम्बन्धित स्थानीय तहको समन्वयमा शव वहानमा परिवारले शव लैजानु भयो ।’
इजारयलबाट फ्लाई दुबईको विमानमार्फत् पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको र आशिष चौधरीको शव नेपाल ल्याइएको थियो ।
बाँकी ६ नेपालीको शव पहिचान र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
हमासको आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए । एकको अवस्था अझै अज्ञात छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology