Logo

२०८३, श्रावण ३१गते


images
images

खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, स्वस्थलाई ‘हरियो’, अस्वस्थलाई ‘रातो’ रङ, प्रतिकिलो ६८० रुपैयाँ

खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, स्वस्थलाई ‘हरियो’, अस्वस्थलाई ‘रातो’ रङ, प्रतिकिलो ६८० रुपैयाँ

images
  • खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, स्वस्थलाई ‘हरियो’, अस्वस्थलाई ‘रातो’ रङ, प्रतिकिलो ६८० रुपैयाँ
    images
    images

    काठमाडौं । दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दै हुनुहुन्छ भने खसीबोकाको सिङमा लगाइएको ‘हरियो’ रंग हेरेर मात्र किन्नुहोला । रंग छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाईं ठगिन सक्नुहुन्छ । शुद्ध र स्वस्थ्य मासुका लागि हरियो चिह्न भएका खसीबोका मात्र खरिद सरकारले सुझाव पनि दिएको छ ।

    images
    images
    images

    पशु सेवा विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थ्यलाई ‘रातो’ चिह्न लगाउने अभियान आज (आइतबार) देखि सुरू गरिएको छ । उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको हो ।

    images
    images
    images

    कलंकी खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्जली खसीबजार, सल्लाघारी च्याङग्राबजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा र चन्द्रागिरी(थानकोट) दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सुरु गरिएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको स्थानमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले जानकारी दिए । यो टोलीमा पशु स्वास्थ्यकर्मी र प्राविधिकलाई परिचालन गरिएको छ ।

    images
    images
    images

    ढकालका अनुसार टोलीले बजारमा आएका खसीबोकाको स्वास्थ्य आगामी कात्तिक ६ गतेसम्म परीक्षण गर्नेछ । पशु चिकित्सकले दसैंमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमूनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।

    बिक्री स्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि गरिएको छ । ‘दसैंको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगवाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ,’ डा. ढकालले भने,‘मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्यक्रम सुरु गरेको हो ।’

    पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिंगान र स्याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुँई कोट्टयाउने, घरी घरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणहरूको पहिचान गर्नेछन् ।

    परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्रि गर्न अनुमति दिने व्यवस्था गरिएको छ । निमुनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानीमा राखेर उपचार गरिनेछ ।

    ‘यसमध्ये निमुनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचार पश्चात स्वस्थ्य भएका खसीबोकालाई पुनः बिक्रिका लागि बजार पठाइनेछ,’ डा. ढकालले भने, ‘तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई कुनै पनि सर्तमा बिक्री गर्न अनुमति दिँदैनौं ।’

    पशु चिकित्सकका अनुसार कडा खालको ज्वरो, पीपीआर, रेबीज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानवस्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रवल सम्भावना हुन्छ । मानिसको ज्यान पनि जोखिममा पर्न सक्छ ।

    पशु सेवा विभागका अनुसार विगतमा उपत्यकामा गरिएको एक अध्ययन अनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ । यस्ता जीवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छन् । अध्ययनअनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपन्छीबाट सर्छ । विभागका अनुसार अघिल्लो वर्षको दसैंमा खसीबोका ५१ हजार, च्याङग्रा २ हजार ५ सय तथा रांगा ५ सयको संख्यामा उपत्यकामा भित्रिएको थियो ।

    चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले दसैंका लागि भनेर शनिबारदेखि भारत र नेपालका विभिन्न सहरबाट खसीबोका भित्र्याउने काम सुरू भइसकेको जानकारी दिए । संघले जिउँदो खसीको मूल्य पनि तोकिसकेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ६६० देखि ६८० रुपैयाँसम्म तोकिएको हो ।

    सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीले खरिद गरेको खसीबोका सोमबारदेखि राजधानीमा भित्रिने र सम्भव भए सोही दिनदेखि मूल्य निर्धारण गरी बिक्री गर्ने जानकारी दिएको छ ।

    यसरी छुट्टयाऔं अस्वस्थ्य खसीबोका

    पीपीआर रोग: श्वासप्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट स्याल तथा सिंगान आउने र ज्वरो आउने गर्छ ।

    घुमाउने रोग: टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिन्छ ।

    रेबिज: मुखबाट स्याल आउने, असामान्य रूपमा कराउने, ज्वरो आउने, छिन छिनमै दिसा गर्ने र खुट्टाले भुँई कोट्टाइरहनेजस्ता लक्षण देखिन्छ ।

    खोरेत: गिजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त, झोक्राएको जस्ता लक्षण देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।