Logo

२०८३, श्रावण २७गते


images
images

पर्यटन

देवदह प्रेस क्लब : पत्रकार पदयात्रा र पर्यटन

देवदह प्रेस क्लब : पत्रकार पदयात्रा र पर्यटन

images
  • देवदह प्रेस क्लब : पत्रकार पदयात्रा र पर्यटन
    images
    images

    भूमिका :

    images
    images
    images

    विक्रम सम्बत २०७८ चैत १ गते लुम्बिनी प्रदेशको तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्रालयमा दर्ता भएको देवदह प्रेस क्लबले २०७९ असोज १० गते देवदह नगर अस्पताल उद्घाटनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरि आफ्नो सार्वजनिक औपचारिक कार्यक्रमको आयोजना गर्यो। त्यसो त त्यो भन्दा अघि २०७९ कै बैशाखमा तत्कालिन अवस्थामा हुन गैरहेको स्थानिय तहको निर्वाचनको सन्दर्भमा नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरूसंग विकास बहस कार्यक्रम समेत देवदह प्रेस क्लबले गरेको थियो, जुन देवदह प्रेस क्लब र नागरिक समाज देवदहको संयुक्त आयोजना थियो।

    images
    images
    images

    सामाजिक काम देखि सार्वजनिक महत्वका विषयमा छलफल तथा अन्तरक्रिया संचालन गर्दै आएको देवदह प्रेस क्लबले २०८० जेठ २४,२५ र २६ गरि तीन दिनसम्म देवदहमा पहिलोपटक देवदह मिडिया फेस्टिवल आयोजना गर्यो र भव्य सफलता प्राप्त समेत गर्यो।  'नेपाली पत्रकारिता : अभ्यास र अबको बाटो', 'देवदहमा मिडिया र मिडियामा देवदह', 'ऐतिहासिक कोलिय राज्य र बृहत लुम्बिनी क्षेत्रको विकास',  'देवदहको पर्यटन विकासमा सामुदायिक वन र सहकारी', 'देवदहमा शिक्षाको वर्तमान अवस्था र भावी रणनीति', 'स्थानिय तहमा न्यायिक सम्पादन र चुनौती' गरि ६ वटा सेशनमा 'प्यानल डिस्कसन'  भएको मिडिया फेस्टिवलमा रूपन्देहीबाट देशका विभिन्न स्थानमा रिपोर्टीङ्ग गर्ने पत्रकार तथा सम्पादक र व्युरो चिफहरूको समेत उल्लेख्य सहभागिता रह्यो। जुन मिडिया फेस्टिवल मकै विशेष गरिएको थियो । देवदहमा उत्पादित मकैको प्रचार गर्ने उद्धेश्य समेत राखिएको फेस्टिवलमा मकैका परिकार र अतिथिलाई मायाको चिनो समेत मकै प्रदान गरिएको थियो । 

    images
    images
    images

    सोहि मिडिया फेस्टिवलले जारी गरेको देवदह घोषणा पत्र - २०८० मा रहेका १० बुँदा मध्येको एउटा बुँदा देवदहको पर्यटन विकासमा सहयोग पुग्ने गतिविधि संचालन गर्ने र समाचार प्रकाशन प्रशारण गर्ने प्रतिबद्धतालाई आत्मसाथ गर्दै देवदह प्रेस क्लबले २०८० श्रावण १९ र २० गते दुईदिने पर्यटनका लागि पत्रकार पदयात्रा संचालन गर्यो। 'पर्यटन प्रवर्धनमा पत्रकार, पाइला-पाइलामा समाचार' भन्ने मूल नारा सहित संचालित पदयात्राका हजारौं फोटोहरू, सयौं भिडियो फुटेज, दर्जनौं भ्लग तथा केही समाचार प्रकाशन/प्रशारण भएका छन् भने यात्रा संस्मरण तथा विभिन्न कोणबाट लेख रचनाहरू आउने क्रम जारी छ।

      पत्रकार पदयात्रा र देवदहमा पर्यटन 

    १४ जना पत्रकार सहभागी पत्रकार पदयात्रा श्रावण १९ गते बिहान ७ बजे देवदहको लौकेश्वर मन्दिरबाट सुरू भयो। देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेल, उप-प्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख शासकीय अधिकृत प्रदिप पौडेल, लुम्बिनी विकास कोषका कोषाध्यक्ष समेत रहनुभएका प्रेस क्लबका सल्लाहकार सिद्धिचरण भट्टराई, देवदह नगर प्रवक्ता गणेश डुम्रे, देवदह नगरपालिकाका शिक्षा अधिकृत परशुराम ढकाल, केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका प्रेस क्लबका सल्लाहकार निर्मल ढुंगाना, रेडियो देवदहका महासचिव समेत रहनु भएका प्रेस क्लबका सल्लाहकार भिम गुरुङ, रेडियो देवदहका कार्यकारी प्रमुख समेत रहनु भएका प्रेस क्लबका क्षेत्रगत सल्लाहकार दीपक न्यौपाने लगायतले पदयात्रामा सहभागी टोलीलाई बिदाई मात्र गर्नुभएन, देवदह-६ स्थित गौतम राष्ट्रिय उद्यान (काष्ठकला पार्क) सम्म संगै पदयात्रा गरेर पदयात्राको टोलीलाई हौसला प्रदान गर्नुभयो। 

    लौकेश्वर मन्दिर :  देवदह - ५ को खैरेनी बजारसंगै जोडिएको लौकेश्वर मन्दिर यहाँको महत्वपुर्ण धार्मिकस्थल हो। धार्मिक र अध्यात्मिक कार्यक्रमहरू भैरहने यस मन्दिर क्षेत्रमा एक सय आठ पिपलका बोट समेत लगाईएको छ । जहाँ पिपलमा जल चढाउँने भक्तजनहरूको संख्या दिनानुदिन बढ्दै गैरहेको देख्न सकिन्छ।

    पदयात्रा टोलीले गौतमबुद्ध राष्ट्रिय उद्यानमा केही समय बिताएर उद्यानका अध्यक्ष टेक बहादुर रानासंग कुराकानी समेत गर्यो। पत्रकारसंग कुरा गर्दै अध्यक्ष रानाले यसप्रकारका पदयात्राले पर्यटन विकासमा सहयोग पुर्याउने बताउंदै टोलीलाई धन्यवाद सहित त्यहाँबाट विदा गर्नुभयो। 

    गौतमबुद्ध राष्ट्रिय उद्यान : छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गौतमबुद्ध राष्ट्रिय उद्यान,  बुद्ध सामुदायिक बन  क्षेत्रभित्र पर्दछ । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले २०७६ सालमा  ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६’ आयोजना समेत  गरिएको थियो। वनमा कुहिएर खेर गएका काठका मुढाहरुबाट  सुन्दर मुर्ति  बनाएर सजाउने सपना देखेका देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु अहिले आफुहरुको  सपना  पुरा  भएको बताउछन् । चारैतिर हरियाली वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्यसंगै  बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू विभिन्न भागमा सजाएर राखिएका छन् । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी पुल, बुद्ध वाटर फल, भुलभुले झरना र हरियो बनको  मनोरम दृश्य यहाँ  देख्न सकिन्छ । 

    गौतमबुद्ध राष्ट्रिय उद्यानबाट विदा भएको टिम दाउन्ने तर्फ अघि बढ्यो । दाउन्ने पनि देवदहको एउटा महत्वपुर्ण पर्यटकीय क्षेत्र भएकोले त्यहाँका स्थानियसंग अन्तरक्रिया गरेर बिहानको खाजासंगै टोलि माथागढ़ी तर्फ अघि बढ्यो ।  

    अत्यन्तै उकालो बाटो गिद्धेभिर, ढावा हुँदै अगाडि बढेको पदयात्रा टोली माथागाउँ त्यहाँ स्थित आदर्श आधारभूत विद्यालयसंगै चिसो हावा र मनोरम दृश्यको दृश्यावलोकन गर्दै देवदहको माथागढी पुग्यो। 

    माथागढी : करिब दुई सय वर्षअगाडि तत्कालीन ब्रिटिस सैनिकले नेपालका विभिन्न  ठाउँमा आक्रमण गरेका थिए । त्यसबेला नेपाली सैनिकहरूले देवदहको सबैभन्दा उच्च स्थान माथागढी किल्लामा बसेर युद्ध गरी विजय प्राप्त गरेका थिए । माथागढी किल्लामा तत्कालीन योद्धाहरूले निर्माण गरेको सुरक्षा पर्खाल, युद्धमा प्रयोग गरिएका हतियारहरू अहिले पनि अवलोकन गर्न सकिन्छ ।  साथै पर्यटकीय दृष्टिकोणले पनि माथागढीको महत्त्व रहेको छ । माथागढी डाँडाबाट रूपन्देही, पाल्पा र नवलपरासीका मनोरम दृश्य तथा हिमालहरू अवलोकन गर्न सकिन्छ । स्थानियहरूले मौसम सफा रहेको अवस्थामा  भारतको गोरखपुरसम्मको दृश्य देख्न सकिने समेत बताउँछन्। 

    माथागढ़ीमा लटरम्म फलेर पाकेको जामुनमा एकैछिन टोलि झुम्यो। मौसमी र अर्गानिक फल जामुनको स्वाद लिएर माथागढ़ी मन्दिरमा तस्विर लिएपछि टोली सरहनबारीतर्फ अघि बढ्यो। अत्यन्तै भिरालो, झाडी र घना जंगलको यात्रा पुरा गर्न हामीलाई झन्डै दुई घण्टा लाग्यो। दुई घन्टाको अनबरत यात्रापछि सरहनबारी आएर खाजा खाएसंगै केही समय स्थानियसंग अन्तक्रिया गर्यो । 

    सरनबारी : देवदह नगरपालिका वडा नं ६ मा रहेको सरनबारी गाउँ प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । भौगोलिक रूपमा पहाडको चारैतिर जङ्गलले घेरेर रहेको यो गाउँ अर्गानिक खेतीका लागि प्रसिद्ध छ । मगर जातिको बाहुल्य रहेको यो गाउँमा सांस्कृतिक विविधताका रूपमा सोरठी, ठाडो भाका-लगायतका गीत-सङ्गीत गाउने गरिन्छ । पुर्वपश्चिम लोकमार्गको शीतलनगरदेखि करिब ३ कि. मि. उत्तरतर्फ पहाडको काखमा यो गाउँ रहेको छ । यो गाउँको माथिल्लो भागबाट देवदहलगायत तराईको विभिन्न भागहरूको अवलोकन गर्न सकिन्छ । सिमि उत्पादनमा ख्यातिप्राप्त सरहनबारी गाउँलाई देवदह नगरपालिकाको तरकारी तथा सिमि पकेट क्षेत्र हो। 

    सरनबारीसम्म आईपुग्दा टिमका अधिकांश सदस्य थाकिसकेका थिए। खुट्टा गलिसकेको र अगाडि नबढीरहेको अवस्थामा पनि साथीहरूको मन थाकेको थिएन। सरहनबारीको नवनिर्मित झुलुङ्गे पुल हुँदै टोलि पारि सरन र केउली पार गरेर उजेरी पुग्ने लक्ष्य अनुरुप टोली अघि बढिरह्यो। 

    बेलुकाको ५ बजे केउली पुगेको पदयात्रा टोलीले स्थानियसंग केही बेर छलफल गरि उजेरी गाउँ तर्फ लाग्यो। 

    केउली : देवदह नगरपालिका वडा नं. ६ मा केउली यो गाउँमा मगर समुदाय बाहुल्य बस्ति छ। भलुहीबाट ३ किलोमिटर उत्तरतर्फ रहेको केउली अर्गानिक तरकारी उत्पादन क्षेत्र समेत हो । केउली वनभोज स्थलका रूपमा चर्चित छ । बुटवल र आसपासका क्षेत्रबाट पनि वनभोजका लागि यहाँ आउने गरिन्छ । 

    केउली कटेर उजेरी तर्फ लागेको टोली उजेरी प्रवेश गर्ने क्रममा झोलुङ्गे पुलमुनी खोलामा बगिरहेको कलकल पानी र गहिरो रहमा केहीबेर  डुबुल्की मार्दै पौडी  खेल्यो र उजेरी गाउँ प्रवेश गर्यो। 

    त्यसदिनको हाम्रो बसाई उजेरीमै थियो। भर्खर मात्र सुरु भएको उजेरी सामुदायिक होम स्टेको हामी पहिलो पाहुनाको रूपमा त्यहाँ पुगेका थियौं। होम स्टेमा हामीसंगै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा, वडा नम्बर ९ का अध्यक्ष मोहन जिसी केरवानी माविका प्रधानाध्यापक निर्मल ढुंगाना, जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा समेत पुग्नुभएको थियो।  पदयात्रा टोली सहित नगर पालिका पदाधिकारीलाई होम स्टेका अध्यक्ष विष्णु बराल सहितको टोलीले माला लगाईदिएर स्वागत गर्यो। बटुक र अचारको स्वाद लिंदै केहीबेर कुराकानी पश्चात सांस्कृतिक कार्यक्रम सुरू भयो। मगर समुदायले गाउने ठाडो भाका र ज्याउरेमा केही बेर रमेपछी बेलुकाको खानाको रूपमा स्थानिय उत्पादन कोदोको ढेडो खाएर होम स्टेका पाँच वटा घरमा बाडिएर सुतियो। 

    २० गते शनिबार बिहान खाजा खाएपश्चात होमस्टेका अध्यक्ष सहितको टिमले फूल दिएर हामीलाई विदा गर्नुभयो। केही सुझाब दिंदै फेरी आउने बाचा सहित पदयात्रा टोली उजेरीबाट विदा भएर देवदह - १० भलुहीस्थित कामधेनु गौशालातर्फ अघि बढ्यो।  

    उजेरी गाउँ : उजेरी गाउँ भलुही (पुर्वपश्चिम लोकमार्ग) बाट करिव ५ किलोमिटरको दुरीमा पर्छ। भलुहीबाट जंगलको बाटो हुँदै चराचुरुंगीको चिरबिर आवाज र खोलाको कलकल बगेको पानीको दृश्य अवलोकन गर्दै उजेरी जान सकिन्छ। झुलुङ्गे पुलबाट जानुपर्ने भएकोले पैदल तथा दुईपाङ्ग्रे साधनमा जानेहरूलाई गाउँसम्म पुग्ने सुविधायुक्त सडक छ भने ४ पाङ्ग्रेमा जानेहरूलाई गाडी रोकेर २०० मिटरको पैदल यात्रा गर्नुपर्ने हुन्छ।  उजेरी गाउँमा २८ घरधुरी रहेका छन भने  हाल ७ वटा घरमा होमस्टेको सुविधा रहेको छ।

    उजेरीबाट करिव ४० मिनेटको पैदलयात्रापछि भलुही चोक हुँदै टोली कामधेनु गौशालामा पुग्यो। गौशालामा देवदह नगरपालिका वडा नम्बर १० का वडा सदस्य अमर लामिछाने, गौशालाका गुरू र बटुकहरूले स्वागतसंगै दहि पानी खुवाएर आतिथ्यता गराउनुभयो। 

    कामधेनु गौशाला : देवदह १० मा अवस्थित कामधेनु गौशाला भलुही चोकबाट ७०० मिटरको दुरीमा पुर्वपश्चिम लोकमार्गसंगै साटेको छ। स्वामी सोमराजद्वारा संचालित गौशालामा हाल ५५० बढी गाई रहेका छन् भने त्यहाँ संचालित बैदिक विद्यालयमा १८ जना बटुकले अध्ययन गरिरहेका छन्। सडकमा छोडिएका वेवारिसे गाईलाई गौशालामा लगेर पाल्ने गरिने हुनाले यस गौशालाले सडक दुर्घटनाको जोखिम घटाउन समेत महत्वपुर्ण भूमिका खेलेको छ। 

    गौशालाबाट फ़र्किएपछि पदयात्रा टोली रोहिणी नदि किनारमा पुग्यो। रोहिणी नदिको तस्विर संकलन गर्दै हामीले उक्त ऐतिहासिक नदीको महत्वको चर्चा गर्यौं। 

    रोहिणी नदी :  रोहिणी नदीलाई बौद्धकालीन समयदेखि नै पवित्र तीर्थस्थलका रूपमा मानिएको छ । किंवदन्ती अनुसार दक्षप्रजापतिकी छोरी रोहिणीलाई चन्द्रमाले विवाह गर्नकालागि भगाएर लैजाँदा दक्षप्रजापतिले थाहा पाएपछि लखेटेका थिए । रोहिणी लखेट्दा चन्द्रमाले महादेवसँग शरण माग्दा महादेवले टाउकोमा शरण दिएका र रोहिणी भाग्दै गएर पाल्पाको सत्यवती तालको नजिक लुकेकी थिइन् । तालको दक्षिणी स्थान अर्थात लुकेको ठाउँबाट उत्पत्ति भई बगेको नदी नै रोहिणी भएकाले यसको ठूलो धार्मिक महतब रहेको स्थानीयहरू बताउँछन् । साथै कोलिय राज्य र शाक्य राज्यको विचमा पानीको लागि विवाद हुँदा गौतम बुद्धले रोहिणी नदिको किनारमा आएर दुबै राज्यलाई मिलाएको किंवदन्ती समेत रहेको छ । रोहिणी नदीलाई नेपाल र भारतमा समेत रोहिणी नामले चिनिन्छ। 

    रोहिणीपछि हाम्रो टोली देवदह ९ स्थित खयरडाँडा पुग्यो। केही समय अघिमात्र उत्खनन भएको खयरडाँडाको ऐतिहासिकताबारे वडा अध्यक्ष मोहन जिसीले चर्चा गर्नुभयो। 

    खयरडाँडा : खयरडाँडा देवदह नगरपालिका वडा नं. ९ घोडाहा गाउँमा रहेको छ । तत्कालीन राज्यको एउटा दरबार रहेको मानिएको क्षेत्रमा भर्खर मात्र  उत्खनन सुरू भएको छ। गौतम बुद्ध मामाघरमा आउँदा यसै दरबारमा बस्ने गर्दथे भन्ने जनविश्वास छ । बुद्धकालिन समयमा यस दरबार परिसरमा घोडा बाँध्ने गरिएकाले यस ठाउँको नाम घोडाहा रहेको  समेत बताइन्छ ।  

    खयरडाँडा घुमेपछि पदयात्रा टोली देवदह तालमा पुग्यो । ऐतिहासिक देवदह तालको तस्विर संकलन गरि उक्त तालको थप सौन्दर्यकरण आवश्यक रहेको विषयमा वडा अध्यक्ष मोहन जिसी लगायत स्थानियसंग छलफल भयो। 

    देवदह ताल : बुद्धकालीन समयमा ऋषि-तपस्वीहरूले स्नान गर्ने (नुहाउने) पवित्र पोखरीलाई नै देव दह भनिएको स्थानिय बताउँछन् ।  'देव दह' देवदह नगरपालिकाको वडा नं. ९ घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनभित्र रहेको छ । देव दहमा सेता, राता र गुलाबी फूलहरू फुल्ने भएकाले बौद्ध धर्ममा यस दहलाई मङ्गल पुष्करिणीको रूपमा समेत लिइने जानकारहरू बताउँछन्। 

    देवदह तालपछि बिहानको खाना खाएर पदयात्रा टोली सातापत्रे सिमसार क्षेत्र तर्फ लाग्यो। वडाध्यक्ष मोहन जिसी, पत्रकार पवन पौडेल लगायतले सातापत्रे सिमसार र यसको विकासमा भएका प्रयत्नबारे चर्चा गर्नुभयो। सातापत्रे सिमसारमा अहिले पनि हरिणले पानी खाने बारे जानकारी प्राप्त भयो। 

    सिमसार पछि हाम्रो टोली स्मृति सामुदायिक वनमा निर्मित स्मृति पार्क (प्रस्तरकला) मा पुग्यौं। जहाँ ढुंगामा कुँदिएका बुद्धसंग सम्बन्धित विभिन्न मूर्तिहरूको अवलोकन गरियो। ड्रिम देवदह र स्मृति सामुदायिक वनको पहलमा निर्मिति प्रस्तरकला पार्क देवदहको महत्वपुर्ण पर्यटकीय गन्तब्य बन्न सक्नेबारे चर्चा भयो। 

    प्रस्तरकलापछि पदयात्रा शितलनगर वनचौकीस्थित यसोधरा बाल उद्यानमा पुग्यो। देवदह आदर्श बहुमुखी क्याम्पसको अगाडि दक्षिणतर्फ पुर्वपश्चिम लोकमार्गसंग जोडिएको छ । यो पार्क बुद्धका तथा सुन्दर फूलहरूले सजिएको छ । जहाँ बाल उद्यान समेत रहेको छ । यस पार्कमा बालबच्चाहरू रमाइरहेको देख्न सकिन्छ ।   

    यात्रा रोकिने कुरै भएन सिमसिम बर्षाको प्रवाह नगरी हामी कन्यामाई र बैरीमाईमा पुगेर त्यहाँको ऐतिहासिकता बारे छलफल गर्दै तस्वीर संकलन गरियो। 

    कन्यामाई : कन्यामाई मन्दिर देवदह-७, शीतलनगरदेखि झन्डै डेढ किलोमिटर दक्षिणतर्फ शान्तिनगरमा रहेको छ । कन्यामाई मन्दिरमा पदमपाणि अवलोकितेश्वरको भाँचिएको प्रस्तरको मूर्ति रहेको छ । यसै ठाउँमा गौतम बुद्धको विशाल कदको मूर्ति मन्दिरको दक्षिणी किनारमा रहेको र अहिले माटोले छोपिएको स्थानीयबासीहरूको भनाइ छ । कन्यामाईमा ईंटा, कुदिएका दुङ्गाबाट निर्मित विशाल भवनको पर्खालसहितको भग्नावशेष, खण्डहर र प्राचीन इनारहरूसमेत रहेको जनविश्वास छ । कन्यामाईमा वि.सं. २०६८ सालमा पुरातत्त्व विभागका पुरातत्त्वविद् प्रकाश दर्नालको नेतृत्वमा उत्खनन भएको थियो । उत्खननका क्रममा बुद्धकालीन महत्व दर्शाउने वस्तुहरू प्राचीन दरबार, इनार, भाँडाकुँडाका अवशेषहरू फेला परेका थिए । यसै ठाउँमा प्राचीन कोलीय राजदरबार रहेको विश्वास छ । यहाँ रहेका इनारहरूबाट बुद्धका माताहरूले पानी पिउने गरेको भनाइ छ । यशोधरालाई कन्यामाईको रुपमा पनि पूजा गरिन्छ ।

    बैरीमाई : बैरीमाई मन्दिर कन्यामाई भन्दा थोरै दक्षिणतर्फ रहेको छ । बैरीमाईमा पनि बौद्धकालीन महत्त्व दर्शाउने वस्तुहरू प्राचीन मूर्ति, भाडाकुंदर अवशेषहरू रहेका छन् ।  कन्यामाई जस्तै  बैरीमाई मन्दिर पनि संरक्षण गरि रखिएको छ। 

    बैरिमाईपछि हामी देवदह - ८ मा अवस्थित पाकरी वृक्षमा पुग्यौं।  पाकरीमा सामुहिक तस्वीर लिएपछि यसको महत्वबारे चर्चा गरियो । 

    पाकरी वृक्ष : देवदह नगरपालिका वडा नं. ८ को पाकडी गाउँको पूर्वतर्फ पाकरी वृक्ष रहेको छ । यो स्थान पूर्व-पश्चिम लोकमार्गको पीपलडाँडादेखि २ कि. मि. दक्षिणमा रहेको छ । पाकरी वृक्षको करिब ३० मिटर उचाइ र ३० मिटर परिधि छ । सधैँभरि हराभरा रहने, चरा चुरुङ्गीले गुँड नलगाउने, गिद्ध जातका चरा नबस्ने, रूखको नजिक हात्ती नजाने, रूख हेर्दा सात तलाका रूपमा देखिने यस रूखका विशेषताहरू हुन् । परिधिका हिसाबले यसलाई नेपालकै ठूलो वृक्षको रूपमा लिइन्छ । यस वृक्षलाई स्थानीयवासीहरूले देववृक्ष, अलौकिक वृक्ष तथा बौद्धकालीन वृक्षका रूपमा समेत लिने गर्दछन् । 

    हाम्रो अन्तिम गन्तब्य भवानीपुर थियो । पाकरी वृक्षको भ्रमणपछि यात्रा भवानीपुर् तर्फ अगाडि बढ्यो । भवानीपुरा लुम्बिनी प्रदेशकै घुम्नेपर्ने स्थान मध्ये एक हो। प्रदेश पर्यटन बोर्डले प्रदेशका १२ जिल्लाका घुम्नेपर्ने स्थान मध्ये भवानीपुरलाई पनि समेटेको छ। 

    भवानीपुर : भवानीपुर प्राचीन देवदहको राजधानीका रूपमा रहेको जनविश्वास छ । यस ठाउँवरपर पत्थरको स्तम्भ, सूर्य 'देवता' को मूर्ति, प्राचीन इनार आदि रहेका छन् । यहाँ अवस्थित पत्थरको स्तम्भ भारतका तत्कालीन सम्राट अशोकद्वारा निर्माण गरिएको अनुमान छ । यो गौतम बुद्धलाई जन्म दिने मायादेवी, सानीआमा प्रजापति र गौतम बुद्धकी पत्नी यशोधराको जन्मस्थान हो । भवानीपुरमा विभिन्न समयमा उत्खनन गर्दा माटाका भाँडा, पैसाका सिक्का तथा भवनको पर्खाल भेटिएका छन् । यस ठाउँको अध्ययन, अवलोकन गर्न आन्तरिक पर्यटकका साथै विभिन्न देशहरूबाट पनि पर्यटक आउने गर्दछन् । यहाँ हरेक वर्ष चैत्र-वैशाख महिनामा पर्ने रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ ।

    यसरी शुक्रबार बिहान ७ बजे लौकेश्वर मन्दिरबाट सुरू भएको पदयात्रा शनिबार दिउँसो ३ बजे भवानीपुरमा पुगेर समापन गरियो। 

    पत्रकार पदयात्राले दिएका केही सन्देश 

    देवदह प्रेस क्लबद्वारा आयोजित पत्रकार पदयात्राले यहाँ स्थापित केहि मान्यतालाई विस्थापन गरेको छ भने केही नयाँ तथ्य स्थापित समेत गरेको छ ।  जुन यस प्रकार छन् : 

    1. देवदहमा पर्यटक रोकिने र घुम्ने स्थान नै छैनन् वा १-२ घन्टामा देवदह भ्रमण गरेर सकिन्छ भन्ने मान्यतालाई पदयात्राले अस्विकार गरेको छ। देवदहकै पत्रकारलाई देवदहको केही पर्यटकीय स्थान घुम्न मात्रै पनि दुई दिन लाग्यो भने यहाँ पर्यटक रोकिने धेरै स्थान छन् भन्ने तथ्य पदयात्राले स्थापित गरेको छ।  एक हप्ता सम्मको 'टुर प्याकेज' मा देवदहमा आउने पर्यटकले यहाँका सबै स्थान घुम्ने र यहाँको बारेमा अध्ययन गर्न सक्ने गरि नगरपालिकाले देवदहको पर्यटनलाई ब्राण्डिङ्ग गर्न जरुरी छ। त्यसका लागि थप अध्ययन र पर्यटकीय स्थानसंगै पर्यटक रहने होटल लगायतको व्यवस्थापन महत्वपुर्ण हुन्छ। 
    2. देवदह प्रेस क्लबले बर्षाको समयमै पदयात्रा गर्नुको पनि फरक उद्धेश्य थियो र त्यसमा प्रेस क्लब सफल भएको छ। दाउन्ने सरहन लगायतका स्थानमा पुग्ने बाटो/सडकहरू बर्षामा पहिरो र झरी लगायतको कारण हिड्न नसकिने हुन्छ भन्ने आम मान्यता पदयात्राले तोडेको छ र यहाँ १२ महिना नै पर्यटकीय गतिविधि गर्न सकिने र त्यसको लागि देवदह सबै ढंगले सुरक्षित रहेको तथ्य व्यवहारमै प्रमाणित भएको छ। 
    3. संस्थागत आयोजनामा देवदह प्रेस क्लबको पदयात्रा सम्भवत: पहिलो हो। प्रेस क्लबले सुरू गरेको यस प्रकारको पदयात्रा वा संस्थागत पर्यटकीय गतिविधि यहाँ क्रियाशील अन्य सामाजिक/राजनीतिक संघ/संगठनले समेत बेलाबखत गरिरहने हो भने त्यस प्रकारको गतिविधिले देवदहको पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेल्न सक्छ। जसको सुरुवात देवदह प्रेस क्लबले गरेको छ। 
    4. देवदह प्रेस क्लबद्वारा आयोजित पत्रकार पदयात्रा उजेरी सामूदायिक होम स्टेमा पुग्ने र बास बस्ने पहिलो पाहुना भएको छ। जसले उजेरी होम स्टे संचालनमा जुटिरहनु भएका स्थानीयहरूलाई प्रेरणा प्रदान  गरेको छ र उहाँहरूलाई उत्साहित बनाएको छ। 
    5. हामी सामान्यतया: पर्यटकीय गतिविधि गर्ने भनेर गाडीमा चढ्ने र घुमफिर गर्ने गर्छौं। देवदह प्रेस क्लबको पदयात्राले 'पेट्रोललेस' पर्यटनलाई प्रवर्धन गरेको छ। 
    6. पत्रकार पदयात्रा  माथागढ़ी पुग्यो । माथा नै पुग्ने यसको एउटा महत्वपुर्ण उद्धेश्य थियो । हिजो राजा महाराजाहरूले आफ्नो राज्य जोगाउन दुस्मनसंग लड्न बनाएका गढीहरू हाम्रा सम्पत्ति हुन् र अब ति गढीहरू पदयात्रा गर्ने र हाम्रो स्वास्थ्य जोगाउने र रोगसंग लड्ने गढ़िका रूपमा विकास गरिनुपर्छ र संगै यस प्रकारका पदयात्राहरूले पर्यटकीय विकासमा पनि योगदान दिन सक्छन भन्ने हाम्रो उद्धेश्य अनुरुप हामीले सफल पदयात्रा  सम्पन्न गरेका छौं। 

    पदयात्रामा सहभागी टोलीका सदस्यहरू र जिम्मेवारी   

    क्र.सं.  पदयात्रामा सहभागी पत्रकारको नाम  संस्थागत जिम्मेवारी /संचार माध्यम  यात्रागत जिम्मेवारी 
    विष्णु प्रसाद पोखरेल  अध्यक्ष, देवदह प्रेस क्लब (सम्पादक, सेतोमसी डटकम) टोली प्रमुख  
    निर्मल थापा  सचिव, देवदह प्रेस क्लब (समाचार प्रमुख, लुम्बिनीपाना डटकम) सहजकर्ता 
    मीन राना  कोषाध्यक्ष, देवदह प्रेस क्लब (समाचार प्रमुख, दर्पणपोस्ट डटकम) फोटो संकलन 
    रेशम अधिकारी  कार्यसमिति सदस्य, देवदह प्रेस क्लब (रिपोर्टर, एवीसी टेलिभिजन) मनोरंजन 
    राहुलदेव सापकोटा  कार्यसमिति सदस्य, देवदह प्रेस क्लब (रिपोर्टर, सेतोमसी डटकम) प्राथमिक उपचार 
    पवन पौडेल  सल्लाहकार, देवदह प्रेस क्लब (सेतोमसी डटकम) समय सूचक 
    राम बहादुर गुरुङ  सल्लाहकार, देवदह प्रेस क्लब (सम्पादक, देवदह साप्ताहिक) तथ्य टिपोट 
    गोविन्द घर्ती  सल्लाहकार, देवदह प्रेस क्लब (समाचार प्रमुख, रेडियो देवदह) रूट मास्टर 
    कमल न्यौपाने  क्षेत्रगत सल्लाहकार, देवदह प्रेस क्लब (स्वतन्त्र लेखक) अनुशासन 
    १० टंक सुनार  क्षेत्रगत सल्लाहकार, देवदह प्रेस क्लब (सम्पादक, दर्पणपोस्ट डटकम) भिडियो संकलन 
    ११ प्रेम थापा  क्षेत्रगत सल्लाहकार, देवदह प्रेस क्लब (अध्यक्ष, गुरास मिडिया) स्थानीय समन्वयकर्ता 
    १२ विनोद उदय  कानुनी सल्लाहकार, देवदह प्रेस क्लब (स्तम्भकार सेतोमसी डटकम) तथ्य टिपोट 
    १३ भरत नेपाली  संस्थापक सदस्य, देवदह प्रेस क्लब (स्वतन्त्र फोटो/भिडियोग्राफर) फोटो संकलन 
    १४ निशान्त पाठक  सदस्य, देवदह प्रेस क्लब (रिपोर्टर, निडनेपाल डटकम) फोटो संकलन 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।