बझाङ । सदरमुकाम चैनपुरबाट तिन दिनको पैदल यात्रा गरेर पुगिने साइपाल गाउँपालिकामामा यतिखेर भने खाद्यान्न अभाव भएको छ। सडक सञ्जाल समेत नपुगेको र पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको समस्यामा रहेका छन् ।
वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा पुरानो पानी पर्ने गोदाममा कुहिएको अवस्थामा चामल रहेको देखिन्छ छ। एक महिना अगाडि देखि काँडामा रहेको डिपो बाट खाद्यान्न बितरण भएर सकिएपछि यति खेर साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ।
चीनसँग सीमा जोडिएको जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि पैसा भएर पनि किनेर खानसम्म अवस्था छैन। हिमाली भेग भएकाले खाद्यान्न उत्पादन समेत न्यून मात्रामा हुने र यातायात सञ्जालहरूसमेत नजोडिएकाले साइपाल गाउँपालिकामा बर्सेनि खाद्यान्न अभाव हुँदै आएको छ। यहाँ उत्पादन भएको खाद्यान्न बस्तु पनि दुई महिना सम्म मात्र खान्न पुग्ने गरेको छ। गत आर्थिक वर्षमा सरकारले ढुवानी अनुदान दिएको दुई हजार पाँच सय क्विन्टलमध्ये ३० क्विन्टल चामल गरेर ४३० क्विन्टल चामल अझै तल्कोट गाउँपालिकाको कुवामा कुहिने अवस्थामा गाईबस्तुलाई घाँस राख्ने ठाउँमा अलपत्र फालिएको छ। साइपाल गाउँपालिका पुर्व अध्यक्ष राजेन्द्र बहादुर धामीका अनुसार बर्खा लाग्यो सँगै खच्चर हिड्ने बाटो पनि अवरुद्ध हुने भएकाले गाउँमा भोकमरी हुने अवस्था छ। यता बिच बाटोमा अलपत्र फालिएको चामल कुहिरहेको देखिन्छ।
उनले यो विषयमा स्थानीय सरकारसमेत गैरजिम्मेवार भएको दुःखेसो गरे। तलकोट गाउँपालिकाको कुवामा रहेको चामल गाईबस्तुलाई घाँस राख्ने गोठानमा राखेका कारण केही चामल कुहिएको स्थानीयले बताएका छन्। काँडामा रहेको खाद्यको डिपो कार्यालयबाट वितरण गरिने मोटो चामल गएको वैशाखयता कहिलेकाहीँ मात्र ढुवानी गरिने भएका कारण त्यस क्षेत्रमा खाद्यान्न अभाव भएको हो। साइपाल गाउँपालिकाका सबै वडामा अहिले खाद्यान्न अभाव भएकाले स्थानीयले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुन लागेको स्थानीयवासीको गुनासो छ। साइपाल गाउँपालिकाको अहिले अधिकांश स्थानमा जस्तै काँडा, धनौन, धुली, न्यूना, बलौडीलगायत गाउँपालिकाका सबै बस्तीमा चामलको अभाव रहेको छ।
त्यहाँका स्थानीयले खाद्यान्नका लागि बारम्बार पहल गरिरहेको भए पनि त्यसको कुनै पनि निकायबाट सुनुवाइ नभएको उनीहरूको दुखेसो रहेको छ। त्यहाँका स्थानीयका अनुसार गाउँमा पनि अहिले पैँचो मागेर एक मुठी चामलसँगै आलु पकाएर स्थानीयले छाक टारी रहेको अवस्था छ। फाट्टफुट रूपमा स्थानीय व्यापारीले खाद्यान्न ल्याएको भए पनि अनुदानको खाद्यान्न भन्दा तीन गुणा बढी मूल्यमा किन्नुपर्ने अवस्था आएको छ। ठेकेदारले चरम लापरबाही गर्ने र स्थानीय सरकारसमेत गैरजिम्मेवार भएका कारण साइपाल गाउँपालिकाका नागरिक भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको आरोप छ । सदरमुकाम चैनपुरबाट तिन दिनको पैदल दूरीमा रहेको साइपाल गाउँपालिका यातायात सञ्जालसँग नजोडिएकाले खाद्यान्न ढुवानी महँगो हुने भएकाले सरकारले ढुवानीमा अनुदान दिएर सर्वसुलभ रूपमा खाद्यान्न उपलब्ध गराउँदै आएको थियो। वर्षा याम सुरु भएसँगै पैदल हिँड्ने बाटो ठाउँ ठाउँमा अवरुद्ध हुँदा खच्चडबाट ढुवानी गर्न निकै कठिन भएको छ। ढुवानीको जिम्मा पाएको जल्पादेवी सप्लायर्सका देवराज जोशीले खच्चड अभावका कारण ढुवानीमा समस्या भएको बताइन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology