रूपन्देही। देवदह खैरेनी बजारमा जथाभावी पार्किङले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शहरीकरणसँगै बढ्दो सवारी साधन, साँघुरा सडक अनि सडकमा गुड्ने ठूला सवारीहरूका लागि बजारमा कुनै पार्किङस्थल नहुँदा जथाभावी र अव्यवस्थित पार्किङ हुने गरेका छन् । जसले बजारका सडकहरू झनै साँघुरो र अव्यवस्थित बनाएको त छ नै, व्यवसायीहरूले पनि उत्तिकै सास्ती व्यहोर्नु परेको छ । यसले बजार क्षेत्र कुरूप देखिएको छ भने व्यापार, व्यवसायमा पनि नोक्सान भएको व्यवसायी बताउँछन्।
‘पसल अगाडि थुप्रै मोटरसाइकल देखि जथाभावी सवारी पार्किङ गर्छन्’ व्यापारी विष्णु सापकोटा भन्छन्– ‘सवारीको भिडले ग्राहक आउनेसम्मको बाटो हुदैन । पार्किङ नगर्नुस् भनेर बारम्बार भन्छौँ तर थोरैले मान्छन् धेरैले मान्दैनन् ।’ पसल अगाडि जथाभावी सवारीहरू पार्किङ गर्दा पसलका लागि आवश्यक सामाग्री आयात निर्यात गर्ने कठिनाइ हुने उनले बताए।
खैरेनीमा किराना स्टोर व्यापार सञ्चालन गर्दै आएका रामु गौडेलको पनि गुनासो यस्तै छ । पसल अगाडि जथाभावी सवारी पार्किङ गर्छन्’ उनले भने–‘दैनिकीमात्र खाद्यान्न वस्तु किन्न आउने ग्राहकहरूलाई पसलसम्म आइपुग्ने बाटो हुदैन ।’ पार्किङको समस्या अहिले मात्रै नभएर वर्षौँदेखि रहेको उनले बताए । त्यसरी ग्राहक आउनेसम्म बाटै नहुने भएपछि ग्राहाकहरू सामान किन्न अन्यत्रसमेत जाने गरेको उनले गुनासो गरे ।
बढ्दो सवारी चापसँगै अव्यवस्थित पार्किङका कारण देवदह अस्तव्यस्त बनिरहेको हो । विशेषगरी देवदह चोक, पुतलीबजार, गोठादी मार्ग, शितलनगर चोक, छ नम्बर चोक लगायतका स्थानमा भित्री सडक तथा मुख्य सडकको दुवैतर्फ पार्किङस्थलका रूपमा प्रयोग हुँदै आएका छन् । मूल सडक नै साँघुरो बनाएर बाटोमै गाडी–बाइक पार्किङ गर्नुपर्ने अवस्था छ । अझ त्यति गर्दा पनि पार्किङको समस्या ज्यूँका त्यूँ देखिन्छ ।
छैनन् पार्किङमैत्री संरचना
बजार क्षेत्रमा बनेको भौतिक संरचना पार्किङमैत्री नहुँदा यो समस्या आएको हो । सडक अगाडि घर निर्माण गर्दा अनिवार्य अन्डरग्राउण्ड पार्किङको व्यवस्था नगर्दासम्म समस्या आउने सराकोरवाला बताउँछन् । धेरै निजी भवन नै पार्किङमैत्री छैनन् । ‘व्यवस्थित पार्किङ गर्ने ठाउँ सबै स्थानमा छैन’ मोटरसाइकल चालक दिनेश न्यौपानेले भने, ‘भएका ठाउँ सबै उपयुक्त छैनन्’ नगरपालिकाले सवारी पार्किङ व्यवस्थापन गर्न नसक्दा समस्या भएको उनी बताउँछन् ।

पार्किङ क्षेत्र नहुँदा समस्या
सवारी पार्किङका लागि बजार क्षेत्रमा अलग्गै ठाउँ तोकिएको छैन् । सडकमा ठूलासाना सबै सवारी साधन गुड्ने र जथाभावी हुने पार्किङले ट्राफिक व्यवस्थापनमा समस्या निम्तिएको देवदह प्रहरी चौकीका ट्राफिक इन्चार्ज ढाकाराम अधिकारी बताए । ‘हामीले नगरपालिकालाई पार्किङको लागि छुट्टै क्षेत्रको व्यवस्थापन गर्न आग्रह गरिरहेका छौं’, उनले भने, ‘तर बजार नजिकै पार्किङका लागि छुट्याउने पर्याप्त स्थान नभएको बताउँदै समस्या समाधानमा चासो दिएको जस्तो लाग्दैन । देवदहमा पार्किङस्थल सुनिश्चित गरेर कार्यान्वयन नगरेसम्म ट्राफिक व्यवस्थापन सम्भव नै नरहेको उनको भनाइ छ ।

नगरपालिकालाई चुनौती
देवदह नगरपालिकाले पार्किङ स्थलका लागि पहल नगर्दा नगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । पसलेहरूले सडकमै पार्किङ गर्दाको समस्या त छदैछ, अर्कोतर्फ नगरले पार्किङका लागि अहिलेसम्म कुनैपनि स्थान टुंगो लगाउनसमेत नसक्दा नगरको ट्राफिक व्यवस्थापन फितलो बनेको हो । स्थानीय सरकारले बजारमा जथाभावी सवारी पार्किङको समस्या समाधानको लागि दीर्घकालिक योजना बनाउँन नसक्नु चुनौतीको विषय बनेको स्थानीय धना सापकोटा ।

देवदह नगरपालिका प्रमुख धुर्व खरेलले ट्राफिक व्यवस्थापन लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘बजार क्षेत्रमा यो पार्किङको समस्या पहिलेदेखि कै हो । यस विषयमा हामी निकै चिन्तित छौं’, उनले भने, स्थानीय सरकारको एकल प्रयासले मात्र यो समस्या समाधान हुँदैन । यो एउटा व्यवसाय जस्तै भएकाले पनि निजी क्षेत्रसँगको सहकार्यबिना यो सम्भव छैन् । पार्किङ व्यवस्थापनको जिम्मा ठेक्कामा दिएर काम अगाडि बढ्छ, जहाँजहाँ सम्भव छ त्यो ठाउँमा जग्गाधनीहरूलाई नगर विकाससँग जोडेर काम सुरु गर्छौ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology