पाल्पा । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीबाट विद्यार्थीहरु समेत प्रभावित भएको भन्दै नेविसंघले खोप उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।
नेविसंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्व विद्यालयले विना तयारी परीक्षा गराउन लागेकाले विद्यार्थीहरुलाई खोपको व्यवस्था मिलाएर मात्र परीक्षा सञ्चालन गर्न माग गरेको छ । नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका इकाई उपसभापति पुण्य प्रसाद सुवेदी, सचिव युवराज चन्द ठकुरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा विद्यार्थीहरुलाई खोपको प्रवन्ध गरी परीक्षा सञ्चालन गर्नु पर्ने उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको लहरले मानव जीवनलाई नै तहसनहस बनाइरहेका बेला विश्वविद्यालयका शैक्षिक गतिविधिहरु पनि प्रभावित भैरहेका छन् तथापि विश्वका हरेक देशहरुमा लगाई सकेको र नेपालमा पनि खोप आइसकेको अवस्थामा त्रि.वि.ले विद्यार्थीहरुलाई खोपको व्यवस्था नगरी यस्तो विषम परिस्थितिमा यही साउन पहिलो साता देखि भौतिक रुपमा नै उपस्थित भई सञ्चालन गर्ने गरी वार्षिक परीक्षा तालिका प्रकाशित गरेको छ । यस विषयमा नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस ईकाइको गम्भीर ध्यानाकर्षण भएको छ’विज्ञप्तिमा भनिएको छ ।
‘विद्यार्र्थीहरुको हक, हितका लागि लड्दै आएको नेविसंघ परीक्षा निर्धारित समय सिमा भित्रै गर्नुपर्छ भन्ने कुरामा प्रतिवद्ध छ, तर परीक्षा सञ्चालनको अवधिमा भिडभाड र जोखिम बढी हुने हुँदा नियमित परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्र्थीहरुलाई तत्काल (परीक्षा अगावै) खोप उपलब्धताको निम्ती सम्बन्धित निकायमा जोडदार माग गर्दछौं’ नेविसंघले भनेको छ । उसले विगत लामो समय देखि आंशिक शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको अनलाईन पठन–पाठन समेत रोकिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघले जारी विज्ञप्ति क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईलाई बुझाएको छ । उसले तत्काल आंशिक शिक्षकको माग पूरा गरी अनलाईन पठन–पाठन गराउन क्याम्पस प्रशासनलाई आग्रह गरेको छ । उसले विद्यार्थीहरुको पठन–पाठन प्रभावित पारी उनीहरुको भविष्य नै अन्धकार हुने गरी गरिएका क्रियाकलापहरु नेविसंघलाई मान्य नहुने भन्दै क्याम्पस प्रशासनलाई चेतावनी दिएको छ । माग पुरा नभए सशक्त रुपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य हुने नेविसंघले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology