राजेश पराजुली, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने इन्धन डिपोको सोमबार शिलान्यास गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विमानस्थलमा बन्ने इन्धन डिपोको शिलान्यास गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ९ हजार २१५ वर्गमिटर क्षेत्रफलमा निगमले डिपो बनाउन लागेको हो । निगमका हवाइ इन्धन डिपो परियोजना प्रमुख भरत रेग्मीका अनुसार बन्न लागेको डिपो ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २५ वर्ष अवधिको फ्लाइट संख्या, यात्रुको चापलाई आधार मानेर सोही अनुसार हवाइ इन्धन भण्डारण कक्ष बन्न लागेको रेग्मीले जानकारी दिए । विमानस्थलमा ३ वटा हवाइ इन्धन ट्यांकी बन्ने र प्रत्येक ट्यांकीको क्षमता १२, १२ लाख लिटर क्षमताको हुने निगमले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो बनाउन गत कात्तिक २९ गते नै सम्झौता गरिएको थियो । निगमले भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्स्ट्रक्स र समानान्तरले संयुक्त रुपमा डिपो बनाउन मूल्य अभिवृद्धि करबाहेक ६७ करोड रुपैयाँमा ठेक्का दिएको छ ।
निगमले सम्झौता भएको समयदेखि २४ महिनामा सक्ने भए पनि १ वर्षभित्रै डिपो बनाइसक्ने दाबी गरेको छ । अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात् पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । नयाँ विमानस्थलमा इन्धन डिपो नहुँदा साविक पोखरा विमानस्थलबाटै ट्यांकरबाट हवाइ ढुवानी गरेर भरिँदै आइएको छ ।
पुरानो विमानस्थलमा भएको ६० हजार लिटर क्षमताको इन्धन भण्डार गृहको भरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेको छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै सीमित हुँदा पनि दैनिक ३० हजार लिटरसम्म इन्धन खपत हुँदै आएको विमानस्थलले जनाएको छ । नयाँ इन्धन डिपो बनेपछि उडानमा पनि सहज हुने विमानस्थलले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology