राजेश पराजुली, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। ३३ जना यात्रुसहित काठमाण्डौको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलबाट उडेको सौर्य एयरलायन्सको विमान बुधबार राति आठ बजेर ४५ मिनेटमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गरेको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमले दिएको जानकारी अनुसार, काठमाडौंदेखि ३३ जना यात्रु लिएर उडेको सौर्यको (एन–एएमई)जेट इन्जिन जहाज पोखराबाट ४६ यात्रु लिएर फर्किएको थियो।
सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमार्फत खुसी व्यक्त गरेका छन् । ‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो,’ उनले भनेका छन्, ‘यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’
फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ। आगामी फागुन २५ गते रात्रिकालीन उडान गर्ने बुद्धको तयारी छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन्। ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन्। काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन्।
बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ। पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि उड्नेछ। भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६:५५ मा उडान हुने जनाइएको छ। हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology