‘आँखा फरफराउनु’, हाम्रो आँखाको माथिल्लो अथवा तल्लो परेला अनियन्त्रित रूपमा कम्पन हुनु हो। विशेष गरी माथिल्लो परेला यसरी फरफराउने गर्दछ।

images
images
images

‘आँखा फरफराउनु’लाई चिकित्सा भाषामा ‘ब्लेफारोस्पाजम’ (Blepharospasm) भनिन्छ। यसले दुवै आँखाको मांशपेसीमा प्रभाव पार्दछ। कसै-कसैको आँखा केहि क्षणको लागि मात्रै फरफराउने गर्दछ भने, कसैको ३/४ महिनासम्म पनि लगातार फरफराउ सक्छ।

images
images
images

आँखा फरफराउनुको कारण यहि भनि बताउन नसकिएपनि चिकित्सा विज्ञान यी कारणहरुसंग सम्बन्ध रहेको बताउछँ।

१. थकान

धेरै टिभी वा दिनैभरी कम्प्यूटरको स्क्रीनमा हेरिरहँदा विशेष गरी हाम्रो आँखामा बढी दवाव पर्ने भएकोले आँखा फरफराउने समस्या देखा पर्न सक्छ। साथै शारीरिक थकान पनि आँखा फरफराउने एक कारण बन्न सक्छ।

२. तनाव

हामी सबैलाई केहि न केहि तनावले सताइरहेको हुन्छ, यसरी अत्याधिक तनाव हुँदा शरीरले विभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्दछ, र आँखा फरफराउनु पनि शरीरले दिने एक किसिमको प्रतिक्रिया हो भन्न सकिन्छ। विशेष गरी हेराइ सम्बन्धी समस्या (माइग्रेन, कमजोर दृष्टि) हुनेहरूको आँखा बढी फरफराउने गर्दछ।

३. आँखामा दवाव

धेरै बेर सम्म कुनै वस्तुमा लगातार हेरिरहँदा पनि आँखामा बढी दवाव पर्न जान्छ, र आँखाको मांशपेसीलाई फेरि सुचारु गर्नको लागि पनि फरफराउने हुन्छ। यदि तपाईँको आँखा दुख्ने समस्या छ भने अथवा लामो समयदेखि चस्मा लगाउनुहुन्छ र एक्कासी चस्मा लगाउन छोड्नुभयो भने पनि आँखा फरफराउने हुन्छ।

४. मध्यपान

अत्याधिक मदिरापान गर्नाले पनि आँखा फरफराउने स्थितीको सृजना हुन सक्छ भन्ने अधिकांश चिकित्सकहरूको धारणा रहेको छ।

५. सुक्खा आँखा

अधिकांश गरी वृद्धवृद्धाहरूको आँखा सुक्खा भएर चिप्रा आउने अनि आँखा फरफराउने समस्या देखा पर्दछ। विशेष प्रकारको औषधीको सेवन गर्ने, लागूपदार्थको सेवन गर्ने, डिप्रेसनको औषधी सेवन गर्ने, कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने तथा धेरै मध्यपान गर्ने व्यक्तिहरूको सुक्खा आँखा हुने समस्या आउँदछ। यसरी धेरै आँखा सुक्खा हुने समस्याले पनि आँखा फरफराउने हुन्छ।

६. असन्तुलित भोजन

चिकित्सकहरूको सल्लाह अनुसार, खानामा विशेष किसिमका पौष्टिक तत्वहरूको कमी भएमा आँखा फरफराउने हुन्छ। दैनिक भोजनमा म्याग्नेसियमको कमी भएमा परेलामा कम्पन हुने हुन्छ। तथापी, यो तथ्यमा कुनै वैज्ञानिक प्रमाण भेट्टिएको छैन।

७. एलर्जी

कसै-कसैलाई धुँवा, धूलो तथा चर्को प्रकाशले गर्दा आँखामा एलर्जी हुने हुन्छ। यही एलर्जीको कारण नै शरीरले आँखा फरफराएर प्रतिक्रिया प्रदर्शन गर्ने गर्दछ। आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने पनि हुन्छ, अनि जब हामीले आँखा मिच्दछौँ, यसले आँखाका तन्तूहरूबाट ‘हिस्टामिन’ (Histamine) नामक तरल पदार्थ र आँशु पैदा गराउँदछ। चिकित्सकहरूको धारणा छ कि, यो हिस्टामिनले नै हाम्रो आँखा फरफराउने समस्या आउँदछ।

८. अनिन्द्रा

धेरै रातसम्म निदाउन नपाउँदा, अथवा अनिन्द्राको समस्या छ भने पनि बिहानको बेला आँखाको परेला फरफराउने गर्छ ।

आँखा फरफराउने समस्यालाई कसरी रोक्ने?

कुनै ठेट कारण नभएको हुँदा यसलाई रोक्ने ठेट उपायको पनि अभाव नै छ। तैपनि, के कारणले गर्दा तपाईँको आँखा फरफराउन थाल्छ, त्यसलाई विचार गरेर रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन्। अधिकांश समय, केहि छिनमै आँखा फरफराउन छाड्दछ, तर यदि धेरै समयसम्म नै फरफराएर समस्या दिने गर्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।

साधारण रोकथामका उपायहरूः

  • के कारणले आँखा फरफराउँछ, विचार गर्नुहोस् त त्यो कारणलाई सकेसम्म कम गर्ने कोशिस गर्नुहोस्।
  • अत्याधिक मध्यपान गर्ने बानी छ भने, बिस्तारै कम गर्दै लैजानुहोस्। साथै, धेरै क्याफिन तथा धुम्रपानको कारणले आँखा फरफराएको हो भने पनि त्यसको सेवनलाई घटाउन सकिन्छ।
  • धेरैले यसलाई रोक्नको लागि परेलाको माथिपट्टि सानो कागजको टुक्रालाई टाँसेर राख्ने गर्छन्, यो पनि राम्रो उपाय हो, किनभने, त्यसको वजनले आँखाको कम्पनलाई अलिकति भएपनि कम गराउँदछ।
  • नियमित सन्तुलित भोजनको आहार गर्नुहोस्। आफ्नो भोजनमा, सबै प्रकारका पौष्टिक तत्वहरू समेट्ने गरी मिसाएर खाँदा उचित हुन्छ।
  • सबैलाई अवगत होस्, दिनमा प्याकेटका हानीकारक खानाहरू खानुभन्दा बरु एउटा स्याउ खानुहोस्। यसरी दैनिक एउटा स्याउ खानुभयो भने, त्यसैले बिस्तारै तपाईँको शरीरमा भएका अधिकांश समस्याहरूलाई कम गर्दै लैजान्छ।
  • आँखा अत्याधिक फरफराउन थाल्यो भने, त्यसलाई बेवास्ता गरेर नबस्नुहोस्, यसले आँखाको मांशपेसीको क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ। त्यसैले बेलैमा अस्पताल गएर जँचाउनुहोस्।