Logo

२०८३, श्रावण २७गते


images
images

हिलोमा पिच, पहिरोमा पर्खाल : असारे बिकास बजेटको दोहन

हिलोमा पिच, पहिरोमा पर्खाल : असारे बिकास बजेटको दोहन

images
  • हिलोमा पिच, पहिरोमा पर्खाल : असारे बिकास बजेटको दोहन
    images
    images

    देशभर यतिबेला जताततै विकासका कामहरूले तीव्रता पाएको छ ।अझ भनौं त छलाङ मारेको छ। विशेषगरी सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम यतिखेर निकै जोडतोडका साथ भइरहेको देख्न पाइन्छ ।

    बोर्ड तेस्र्याएर सवारी साधनलाई अन्यत्र डाइभर्ट गर्ने काम पनि धेरै ठाउँमा गरिएको देख्न र भोग्न पाइन्छ । हाम्रो देशमा हरेक वर्ष किन असार लागेपछि मात्रै विकासको कामले तीव्रता पाउँछ भन्ने प्रश्नको उचित जवाफ हामी पाउन सक्दैनौँ । तर यसमा आर्थिक अनियमितता अथवा भ्रष्टाचारको गन्ध भने राम्रैसँग पाउँदै आएका छौँ ।

    विनियोजित बजेट असारमसान्त भित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले पनि असार मसान्त भित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नियमले गर्दा असारमा रोपाइँको भन्दा बढी विकासको चटारो परेको देख्न पाइन्छ । योजना सम्पन्न भएको प्रतिवेदन र बिल भर्पाई पेस गरी भुक्तानी स्वीकृत गराउन असार महिनाभरि सरकारी अड्डाहरूमा ठेकेदार कम्पनी, उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिहरूको भीड लागेको देख्न पाइन्छ । विनियोजित बजेट फ्रिज हुनबाट जोगाउन निकै हतार र लतरपतर पाराले गरिने विकासको कामले दिगो विकासलाई पटक्कै सघाएको छैन । यसले बजेटको दुरुपयोग मात्रै बढाउँदै आएको छ । वर्षको एघार महिना सुस्ताएका ठेकेदार कम्पनीहरू पनि असार महिना लागेपछि भने काम गर्न जुर्मुराउने र सरकार पनि असार लागेपछि मात्रै विकासको काममा जाँगर देखाउने प्रवृत्तिले असारे विकासले प्रश्रय पाउँदै आएको छ ।

    असार लागेपछि नै काममा जुर्मुराउने प्रवृत्तिभित्र अन्य कुन कुन असल वा खराब प्रवृत्ति लुकेको छ भन्ने कुराको खोजबिन हुनुपर्ने खाँचो पनि टड्कारो देखिएको छ । असारे विकासले दिगो विकासलाई सघाउँदैन भन्ने अनुभव आमनागरिकले धेरै अघिदेखि गर्दै आएका छन् ।

    असारे विकास भनेको टालटुले कामको पर्याय मात्रै हो । अझै यसो पनि भन्न सक्छौँ असारे विकास भनेको वर्षाको खहरे हो, जुन अहिले छ भरे छैन । टालटुले काम गरेर बजेट सक्ने प्रवृत्तिले गर्दा एउटै कामका लागि पटकपटक बजेट विनियोजन गर्नुपर्ने बाध्यता पनि दोहोरिँदै आएको छ । यस्तो प्रवृत्तिले आम उपभोक्ताले कुनै सुविधा नपाउने, तर ठेकेदार कम्पनी र तिनका मतियारहरूले मात्रै लाभ हासिल गर्ने परिपाटीले गर्दा वास्तविक विकासले नभई असारे विकासले प्रश्रय पाउँदै आएको छ ।

    अहिले सहरदेखि गाउँसम्म र गाउँदेखि सहरसम्मै सडक, सिचाइँ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका कामले तीव्रता पाएको छ । विशेषगरी सडक निर्माण र मर्मत गर्ने काम भइरहेको देख्न पाइन्छ । सडक निर्माणको नाउँमा डोजर र स्काभेटरले जथाभावी जग्गा सम्याउने, माटो भर्ने र असार १ देखि भदौ मसान्तसम्म डोजर नचलाउनु भन्ने सरकारी उर्दिको धज्जिया उडाउँदै पहाडको भित्ता फोर्ने काम जताततै भइरहेको देख्न सकिन्छ । अनि सडक मर्मतको नाउँमा सिमसिम पानीमा सडक कालोपत्रे गरिरहेको, धुलो, माटो र पानीमाथि नै कालोपत्रे गरिरहेको पनि देख्न पाइन्छ । कतै कालोपत्रेमाथि नै कालोपत्रे थपिँदै गरेको पनि देख्न पाइन्छ । यस्तो टालटुले काम कति दिन टिक्छ, त्यो जोसुकैले अनुमान गर्न सक्छ र यो असारे विकास हो भनेर बुझ्न सकिन्छ ।

    स्थानीय जनप्रतिनिधिहरूले पनि जनतालाई विकासको काम भएको र आफ्नो प्रतिबद्धता पूरा गरेको देखाउन यही असार महिनालाई नै उपयुक्त महिना ठानेर बाटाघाटो, पुलपुलेसा आदि इत्यादि बनाउने कामलाई प्राथमिकता दिन्छन् ।

    यसो त नेपालको सुस्त कर्मचारीतन्त्र र झन्झटिलो प्रक्रियाले गर्दा बजेट स्वीकृत भएर आउन नै समय लाग्ने हुँदा विकासको काममा सधैँ विलम्ब हुँदै आएको छ । यही एउटै कारणलाई नै मुख्य कारण मानेर उपभोक्ता समिति र ठेकेदार कम्पनीहरूले पनि अन्ततः यही असार महिनालाई कामको मुख्य समय बनाउने गरेका छन् । टालटुले किसिमले काम सकाउने, जनताको आँखामा छारो हाल्ने र सरकारबाट कामको भुक्तानी लिने पुरानै प्रवृत्तिमा परिवर्तन आउन नसक्दा आमनागरिकले वास्तविक र दिगो विकासको अनुभूति नै गर्न पाएका छैनन् ।सरसर्ती बुझ्दा असारे बिकास बजेट दोहन नै हो भन्दा अत्युक्ति नहोला।

    रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।