देशभर यतिबेला जताततै विकासका कामहरूले तीव्रता पाएको छ ।अझ भनौं त छलाङ मारेको छ। विशेषगरी सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम यतिखेर निकै जोडतोडका साथ भइरहेको देख्न पाइन्छ ।
बोर्ड तेस्र्याएर सवारी साधनलाई अन्यत्र डाइभर्ट गर्ने काम पनि धेरै ठाउँमा गरिएको देख्न र भोग्न पाइन्छ । हाम्रो देशमा हरेक वर्ष किन असार लागेपछि मात्रै विकासको कामले तीव्रता पाउँछ भन्ने प्रश्नको उचित जवाफ हामी पाउन सक्दैनौँ । तर यसमा आर्थिक अनियमितता अथवा भ्रष्टाचारको गन्ध भने राम्रैसँग पाउँदै आएका छौँ ।
विनियोजित बजेट असारमसान्त भित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले पनि असार मसान्त भित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नियमले गर्दा असारमा रोपाइँको भन्दा बढी विकासको चटारो परेको देख्न पाइन्छ । योजना सम्पन्न भएको प्रतिवेदन र बिल भर्पाई पेस गरी भुक्तानी स्वीकृत गराउन असार महिनाभरि सरकारी अड्डाहरूमा ठेकेदार कम्पनी, उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिहरूको भीड लागेको देख्न पाइन्छ । विनियोजित बजेट फ्रिज हुनबाट जोगाउन निकै हतार र लतरपतर पाराले गरिने विकासको कामले दिगो विकासलाई पटक्कै सघाएको छैन । यसले बजेटको दुरुपयोग मात्रै बढाउँदै आएको छ । वर्षको एघार महिना सुस्ताएका ठेकेदार कम्पनीहरू पनि असार महिना लागेपछि भने काम गर्न जुर्मुराउने र सरकार पनि असार लागेपछि मात्रै विकासको काममा जाँगर देखाउने प्रवृत्तिले असारे विकासले प्रश्रय पाउँदै आएको छ ।
असार लागेपछि नै काममा जुर्मुराउने प्रवृत्तिभित्र अन्य कुन कुन असल वा खराब प्रवृत्ति लुकेको छ भन्ने कुराको खोजबिन हुनुपर्ने खाँचो पनि टड्कारो देखिएको छ । असारे विकासले दिगो विकासलाई सघाउँदैन भन्ने अनुभव आमनागरिकले धेरै अघिदेखि गर्दै आएका छन् ।
असारे विकास भनेको टालटुले कामको पर्याय मात्रै हो । अझै यसो पनि भन्न सक्छौँ असारे विकास भनेको वर्षाको खहरे हो, जुन अहिले छ भरे छैन । टालटुले काम गरेर बजेट सक्ने प्रवृत्तिले गर्दा एउटै कामका लागि पटकपटक बजेट विनियोजन गर्नुपर्ने बाध्यता पनि दोहोरिँदै आएको छ । यस्तो प्रवृत्तिले आम उपभोक्ताले कुनै सुविधा नपाउने, तर ठेकेदार कम्पनी र तिनका मतियारहरूले मात्रै लाभ हासिल गर्ने परिपाटीले गर्दा वास्तविक विकासले नभई असारे विकासले प्रश्रय पाउँदै आएको छ ।
अहिले सहरदेखि गाउँसम्म र गाउँदेखि सहरसम्मै सडक, सिचाइँ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका कामले तीव्रता पाएको छ । विशेषगरी सडक निर्माण र मर्मत गर्ने काम भइरहेको देख्न पाइन्छ । सडक निर्माणको नाउँमा डोजर र स्काभेटरले जथाभावी जग्गा सम्याउने, माटो भर्ने र असार १ देखि भदौ मसान्तसम्म डोजर नचलाउनु भन्ने सरकारी उर्दिको धज्जिया उडाउँदै पहाडको भित्ता फोर्ने काम जताततै भइरहेको देख्न सकिन्छ । अनि सडक मर्मतको नाउँमा सिमसिम पानीमा सडक कालोपत्रे गरिरहेको, धुलो, माटो र पानीमाथि नै कालोपत्रे गरिरहेको पनि देख्न पाइन्छ । कतै कालोपत्रेमाथि नै कालोपत्रे थपिँदै गरेको पनि देख्न पाइन्छ । यस्तो टालटुले काम कति दिन टिक्छ, त्यो जोसुकैले अनुमान गर्न सक्छ र यो असारे विकास हो भनेर बुझ्न सकिन्छ ।
स्थानीय जनप्रतिनिधिहरूले पनि जनतालाई विकासको काम भएको र आफ्नो प्रतिबद्धता पूरा गरेको देखाउन यही असार महिनालाई नै उपयुक्त महिना ठानेर बाटाघाटो, पुलपुलेसा आदि इत्यादि बनाउने कामलाई प्राथमिकता दिन्छन् ।
यसो त नेपालको सुस्त कर्मचारीतन्त्र र झन्झटिलो प्रक्रियाले गर्दा बजेट स्वीकृत भएर आउन नै समय लाग्ने हुँदा विकासको काममा सधैँ विलम्ब हुँदै आएको छ । यही एउटै कारणलाई नै मुख्य कारण मानेर उपभोक्ता समिति र ठेकेदार कम्पनीहरूले पनि अन्ततः यही असार महिनालाई कामको मुख्य समय बनाउने गरेका छन् । टालटुले किसिमले काम सकाउने, जनताको आँखामा छारो हाल्ने र सरकारबाट कामको भुक्तानी लिने पुरानै प्रवृत्तिमा परिवर्तन आउन नसक्दा आमनागरिकले वास्तविक र दिगो विकासको अनुभूति नै गर्न पाएका छैनन् ।सरसर्ती बुझ्दा असारे बिकास बजेट दोहन नै हो भन्दा अत्युक्ति नहोला।
रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology