देवदह । देवदह नगरपालिका वडा नम्बर ५ ले ४५ दिने मन्टेस्वरी तालिमको सुरुवात गरेको छ । मंगलबार एक कार्यक्रमबीच कार्यबाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले तालिमको उद्घाटन गरिन।
तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख गुरुङ्ले रोजगार सिर्जना गर्न तालिमले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन।
वार्षिक कार्यक्रम अनुसार मन्टेस्वरी तालिम सुरु गरिएको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए। प्रशिक्षार्थीहरुकै मागमा आधारित र प्रतिबद्धता सहितको रोजगार सिर्जना गर्ने उक्त तालिम ४५ दिनसम्म संचालन हुने नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले बताए ।
४५ दिनको सैद्धान्तिक प्रशिक्षणपछि १५ दिनसम्म स्कुलमा इन्टन्शिप समेत गर्नुपर्ने प्रावधान तालिममा राखिएको छ।
वडा कार्यालयले विनियोजन गरेको दुई लाख ४७ हजार पाँच सय बजेटमा संचालित तालिममा देवदह वडा नम्बर ५ निवासी कक्षा १२ भन्दा माथिको शैक्षिक योग्यता भएका २५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन्। तालिम उद्घाटन कार्यक्रममा वडाका कार्यवाहक वडा अध्यक्ष होमनाथ भट्टराई, नगर शिक्षा शाखा अधिकृत प्रशुराम ढकाल, वडा सदस्यहरु बिमला दर्लामी, संगीता बिक, साबित्रा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology